काठमाडौं,२६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको मुख्यमन्त्रीमा कसैको पक्ष नलिने भएको छ ।
आज बसेको पदाधिकारी बैठकले पार्टीको समर्थन कसैलाई पनि आवश्यक नपरेकाले अहिले तटस्थ बस्ने निर्णय लिएको हो
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की र माओवादीका इन्द्र आङ्बोले दाबी पेश गरेका छन् । कार्कीले कांग्रेसका ९ र एमालेका ३९ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् । भने, आङ्बोले ४ दलका संसदीय दलका नेताले गरेको समर्थनका आधारमा दाबी पेश गरेका हुन् ।
प्रदेश सभामा बिहीबार सम्म निर्णायक देखिएको राप्रपाका ६ सांसद छन् । राप्रपाले तत्काल कुनैपनि पक्षमा आफ्नो मत जाहेर नगर्ने निर्णय लिएपछि त्यसको प्रत्क्ष फाइदा मुख्यमन्त्रीमा उम्मेदवार केदार कार्कीलाई पुग्ने देखिएको छ । बिहीबार कार्कीले आफ्ना पार्टीका ९ र एमालेका ३९ गरी ४८ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका थिए । उता मुख्यमन्त्रीमा दाबी पेश गरेका माओवादी केन्द्रका इन्द्र आङ्बोले कांग्रेससहित सत्ता गठबन्धनमा रहेका चार दलका संसदीय दल नेताको मात्र हस्ताक्षर बुझाएकाले कार्कीको दाबी बलियो देखिएको हो ।
कार्कीले बुझाएका प्रदेश सांसदहरुले हस्ताक्षर दुरुपयोग भयो पनि नभनेकाले उनी नै मुख्यमन्त्री बन्ने राप्रपा नेताहरुको विश्लेषण छ ।
९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी गर्न ४७ प्रदेशसभा सदस्य चाहिन्छ। कार्कीको समर्थनमा एमालेका ३९ र कांग्रेसका ९ जना गरेर ४८ जना प्रदेशसभा सदस्य देखिएका छन्। संविधान र सर्वोच्चको २०७८ असार २८ को परमादेशी फैसला अनुसार कार्की मुख्यमन्त्री बन्ने देखिन्छ।
दुई जनाले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधान र कानूनविद् सँथ छलफल गरेका आज निर्णय लिने बताएका छन् । गत असोज २० गते मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले आजसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागी दाबी पेश गर्न आव्हान गरेका थिए ।