Logo

केदार कार्कीलाई गठबन्धनकै मुख्यमन्त्रीमा रुपान्तरण गरे एमाले प्रतिपक्षमा बस्न तयार छ : प्रमुख सचेतक



काठमाडौं, २७ असोज । नेकपा एमाले कोसी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशको राजनीतिमा आफ्नो पार्टी असफल नभएको बताएका छन् ।
‘हाम्रो चाहना प्रदेशमा स्थिर सरकार हो । सरकार बनाउनका लागि गठबन्धनको ४७ सिट पर्याप्त थिएन । त्यसकारण हामीले केदार कार्कीसँग सहकार्य गरेका हौं । शेरबहादुर देउवा र प्रचण्डले कार्कीलाई गठबन्धनकै मुख्यमन्त्रीमा रुपान्तरण गर्नुहुन्छ भने पनि हामी प्रतिपक्षमा बस्न तयार छौं । यसमा हाम्रो कुनै आपत्ति छैन । हामीले एमाले असफल भयो पनि भनेका छैनौं, सफल भयो भनेर उत्साहित पनि छैनौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
भण्डारीले आफूहरु नेपाली कांग्रेस फुटाउन नलागेको पनि स्पष्ट पारे । उनले भने, ‘हामीले कांग्रेस फुटाउँछौं भनेर लागेका छैनौं । हामीले त सिंगो पार्टी आओस्, सहकार्य गर्न तयार छौं भनेका थियौं । त्यसमा हामी खुकुलो र लचिलो छौं । आज हामी प्रदेश प्रमुखको कार्यालयमा गएर केदार कार्कीको पक्षमा सनाखत हस्ताक्षर गरिदिन्छौं । मुख्यमन्त्री बन्ने बाटो खुला गरिदिन्छौं । कुनै दाउपेचमा लाग्दैनौं ।’ कोसी प्रदेश कुसमयमा मध्यावधिमा नजाओस् भनेर आफूहरुले प्रयत्न गरेको पनि उनको दाबी छ ।
कानुनी हिसाबले केदार कार्कीलाई गठबन्धनको उम्मेदवार बनाउने अध्याय सकिएको पनि भण्डारीले बताए । उनले भने, ‘मुख्यमन्त्रीको दाबी फिर्ता लिने समय हिजै सकिइसक्यो । कानुनी हिसाबले च्याप्टर क्लोज भइसक्यो । तर कांग्रेसले भोलि केदार कार्की र आफ्नो दलको तर्फबाट मुख्यमन्त्री भन्न सक्छ । त्यो उसको अधिकार हो । तर अहिले नै समर्थन गर्ने आधार छैन ।’
कोसी प्रदेशमा सहमतिको सरकार निर्माणमा नेकपा एमाले खुला रहेको पनि उनले बताए । भण्डारीले भने, ‘अब केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुहुन्छ । उहाँलाई कांग्रेस, माओवादी र एसले विश्वासको मत दिन सक्छन् । मुख्यमन्त्री सहज ढंगले जाँदासम्म सरकारलाई हाम्रो समर्थन हुन्छ । एमाले सरकारमा जाने सम्भावना पनि रहन्छ ।’ राप्रपाबाहेक सबै दल सरकारमा सहभागी बन्न सम्भावना पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्