Logo

कोसी प्रदेशमा मन्त्रीमण्डल विस्तार र विश्वासको मत लिने काम दसैं अगावै हुन्छ : कार्की



काठमाडौं, २९ असोज । नेकपा एमालेका नेता एवं कोसी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेशबाट राजनीतिक कोर्स करेक्सनको सुरुआत भएको बताएका छन् ।
‘कोसीको राजनीतिक स्थिरता र स्थायित्वका लागि प्रदेशसभालाई पाँच वर्ष पूरा चलाउन नेपाली कांग्रेस र एमालेबीच संस्थागत ढंगले सहकार्य गरौं भन्ने हाम्रो प्रस्ताव हो । तत्काल त्यो सम्भव नभएपछि हामीले कांग्रेसको एउटा पक्षलाई लिएका हौं । यसले राष्ट्रिय राजनीतिमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
कार्कीले कोसी प्रदेशमा राष्ट्रिय वा सर्वदलीय सरकार भन्ने सम्भावना नभएको बताए । उनले भने, ‘कांग्रेसमा आज विद्रोह भएको छ । भोलि उसलाई सम्झाएर बुझाएर ल्याउने हो । अहिलेको संविधानलाई बचाउने हो भने दुइटा शक्ति मिल्नै पर्छ । आफू हुँदा बल गर्ने, नहुँदा बल नगर्ने हाम्रो प्रवृत्ति छ । मैले त्यसका लागि ६-७ महिना प्रयास गरें । त्यो सम्भव भएन ।’
एमालेले कांग्रेसलाई फुटाउने खोजेको नभईकन कोर्स करेक्सन गराउन मात्र खोजेको उनको जिकिर छ । कार्कीले थपे, ‘राजनीतिमा द्वन्द्व र विवादले फुटमा मात्र लाँदैन, कोर्स करेक्सन पनि गर्छ । माननीय शेखर कोइरालाले अहिले जुन सन्देश प्रवाह गर्नुभएको छ, उहाँको रिकग्नाइज भएको छ, त्यो एकदमै उचित छ । अब पनि सच्चिने समय छ । छिटो यो कोर्सलाई अघि बढाऔं । नेपाली कांग्रेस वा शेरबहादुर देउवाले ढिला गरे हामीसँग समय सकिन्छ । चाहेर पनि सच्चाउन सक्दैनौं ।’
अब केन्द्रको सरकार पनि बदलिन्छ भन्ने पत्रकार धमलाको प्रशनमा निवर्तमान मुख्यमन्त्री कार्कीले भने, ‘प्रधानमन्त्री को बनाउने भन्ने सेकेन्डरी कुरा हो । तर हामी केन्द्रमा पनि कांग्रेससँग सहकार्यका पक्षमा छौं । त्यसो भयो भने धेरै कुरा सेटलमेन्ट हुन्छ । हामीले संसदको ७५ प्रतिशत सहभागितामा सरकारलाई अघि बढाउन सक्छौ । हामीले कोसीमा बसेर योगदान गरिरहेका छौं । अन्यत्र पनि सकारात्मक वातावरण बन्ने विश्वास छ ।’ कोसी प्रदेशको विश्वासको मत र मन्त्रीमण्डल विस्तार दसैं अगावै हुने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्