काठमाडौं,२९ असोज । कोशी प्रदेशको प्रदेश सभा बैठक आव्हान भएको छ । असोज २० गते तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनका लागी डाकिएको बैठक त्यसपछि बस्न सकेको थिए। प्रदेश सभा सचिवालयले आज एक सूचना जारी गर्दै कार्तिक १ गते बुधबारका लागि बैठक डाकिएको जनाएको छ ।
कार्तिक १ गते बिहान ११ बजे बस्नेगरी बैठक बोलाईएको हो । कार्तिक १ मा बस्ने बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् । उनले आज नेकपा एमालेसहितका दलहरुसँग छलफल गर्ने उनीनिकट स्रोतले जनाएको छ ।
कार्कीले आज दिउँसो एमालेसँग आफैले छलफल गर्ने र अन्य दलसँग छलफल गर्ने जिम्मा नेता हिमाल कार्कीलाई दिएको स्रोतले जनाएको छ । कार्कीले आफूहरुको सल्लाह र निर्देशनलाई अटेर गरेको भन्दै नेपाली कांग्रेससहितका नेताहरु मुख्यमन्त्री कार्कीसँग चिडिएका छन् । उनले गरेको फोनसमेत नउठाएपछि उनले अर्का नेता हिमाललाई दलहरुसँग छलफल गर्ने जिम्मा दिएका हुन् । हिमालले शुक्रबार अचानक संसदीय दलको उपनेताबाट राजीनामा दिएका थिए ।
कार्की कांग्रेसबाठ विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री दिने सहमति गरेपछि कांग्रेस नेता शेखर कोइरालाले पार्टीमा विद्रोह गर्दै केदारलाई मुख्यमन्त्री बनाएका हुन् । शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आइतबार पद तथा गोपनियताको शपथ लिएका थिए । उनले आइतबार नै कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर रानालाई मन्त्री बनाएका थिए ।