काठमाडौं,२९ असोज । ड्राइभ सेयरिङ एप पठाओ र इनड्राइभ अफलाइन चलाउने ८३ जना प्रहरीको फन्दामा परेका छन् ।
सोमबार काठमाडौंका विभिन्न स्थानबाट अफलाइन ड्राइभ गर्ने उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अनलाइन सेवा बन्द गरेर उनीहरूले सर्वसाधारणलाई ओसारपसार गरेको भेटिएपछि प्रहरीले उनीहरूलाई कारबाहीको दायरामा ल्याएको हो । पछिल्लो समय आपराधिक घटनाहरुमा त्यस्ता सवारी संलग्न देखिएको प्रहरीको भनाइ छ । अफलाइनमा यात्रा गर्नु जोखिमपूर्ण हुने भन्दै प्रहरीले ‘अफलाइन राइड सेयर’ नगर्न सबैलाई आग्रह गरेको छ ।