Logo

कांग्रेसमा इतर, भितर र तितरबितर गुट छन् : डा. नारायण खड्का



काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोसी प्रदेशको सरकार निर्माण प्रकरणबाट पार्टीभित्र विग्रह र विभाजनको बीउ रोपिएको बताएका छन् ।
‘माओवादीलाई कोसी प्रदेशको नेतृत्व दिने बारेमा पार्टीकै कार्यसम्पादन समितिमा समीक्षा हुनुपर्थ्यो, करेक्सन गर्न सक्नुपर्थ्यो । तर गठबन्धनको निर्णय विपरीत पार्टीमा सल्लाह नगरीकन विपरीत प्रतिपक्षसँग मिलेर जबर्जस्ती अराजक तरिकाले अघि बढेपछि विभिन्न शंका-आशंका उब्जेका छन् । यसरी कसरी पार्टी चल्छ भन्ने कुरा उठेका छन्,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
डा. खड्काले पार्टी सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै शेखर कोइरालाको हस्ताक्षर गराउने व्यक्ति को हो भनेर प्रश्न गरे । उनले भने, ‘हाम्रो पार्टी सभापति र प्रचण्डजीसँगै पार्टीको विद्रोही खेमाको नेतालाई सही गराउने लिखत कसको हो ? हाम्रो पार्टीमा दुइटा सभापति छन् भन्न खोजेको हो ? अर्को पार्टीको अध्यक्षसँग दुई-दुई जनाको सही गराउने सल्लाह कसले दियो ? के हैसियतमा सही गराएको ? त्यसलाई हामीले चिन्नुपर्छ । सहमतिको नाममा त्यसरी सही गराउनु पार्टीमा विग्रह उत्पन्न गराउनु हो ।’
पार्टीमा आन्तरिक सहमति गरेर जानुपर्नेमा त्यस्तो नभएकोमा पनि उनले आपत्ति जनाए । डा. खड्काले भने, ‘यसै पनि कांग्रेसमा इतर, भितर र तितरबितर गुट छन् । हस्ताक्षर प्रकरणले त झन् ठूलो विग्रह बिजारोपण गरेको छ । त्यसरी सही गरेर कोही नेता एकछिन शक्तिशाली होला । तर यसरी नै जबर्जस्तीपना स्वीकार्दै जाने हो भने पार्टीको अवस्था के हुन्छ ? पार्टीलाई हानि पुर् याएर व्यक्तिलाई मात्र राम्रो कुने कुरा उचित भएन ।’
आगामी केन्द्रीय समितिको बैठकमा यसबारे घनीभूत छलफल हुनुपर्ने पनि उनले बताए । उनले भने, ‘गठबन्धन बचाउने कुरामा कांग्रेसका दुई-दुई जना नेताले सही गर्नुपर्ने आवश्यकता किन पर् यो ? केन्द्रमा त तत्काल सम्भव नहोला तर अन्य प्रदेशमा पनि १०-१२ जना सांसद मिलेर त्यसै गरे भने के गर्ने ?’

कोसी प्रदेशमा केदार कार्कीको सरकारलाई समर्थन गर्नुको विकल्प नभएको पनि डा. खड्काले बताए । उनले थपे, ‘केदार कार्की मेरा साथी हुन्, भाइ हुन् । मैले व्यक्तिगत रुपमा बधाई पनि दिएँ । उनलाई समर्थन नगरे मध्यावधिमा जाने अवस्था आउँछ । कार्कीको सरकारलाई समर्थन गर्नुको विकल्प छैन ।’ साथै उनले गठबन्धनको सरकार कति समय जाला भन्ने अनुमान गर्न सकिने अवस्था नभएको बताए ।
अर्को प्रसंगमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा. खड्काले आफूले चीनसँग रसुवागढी–स्याफ्रुबेसी– काठमाडौं रेलवे उपहारमा बताइदिन आग्रह गरे पनि चिनियाँ पक्षले ‘पछि कुरा गरौंला’ भनेर कूटनीतिक जवाफ दिएको स्मरण गरे । उनले भने, ‘आन्तरिक अवस्था संग्लो नभईकन हामीले बीआरआईको ऋण लिन सक्दैनौं । रेलवे लगायत ठूला परियोजनामा अहिले ऋण लिने अवस्था छैन ।’ छिमेकी मुलुकसँग चाङका चाङका सम्झौता गर्ने तर त्यसपछि वास्ता नगर्ने प्रवृत्तिका कारण पनि समस्या भएको उनले बताए ।
साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको कालापानी भ्रमणको चर्चा स्वाभाविक भएको र यसबारे प्रधानमन्त्री वा परराष्ट्र मन्त्रालयले स्पष्ट पार्नुपर्ने औंल्याए । इजरायलमा हराइरहेका नेपाली विद्यार्थी विपिन जोशी हमासको अपहरण परेको हो कि होइन भन्ने विषयमा परराष्ट्र मन्त्रालयले र इजरायली राजदूतावासले संवाद अघि बढाउनुपर्ने उनले पनि बताए । गैरआवासीय नेपालीलाई नागरिकता दिनु राम्रो कदम भए पनि मतदानको अधिकार कसरी व्यवस्थापन गर्ने भन्ने कुरा विचारणीय रहेको डा. खड्काको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्