Logo

कांग्रेस र माओवादीले हामीलाई स्वीकार नगरेपछि केदार कार्कीलाई समर्थन गर्‍यौं: हिक्मत कार्की



काठमाडौं,१ कार्तिक । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएका छन् ।

बुधबारको प्रदेश सभाको बैठकमा बोल्दै निवर्तमान मुख्यमन्त्रीसमेत रहेका कार्कीले पटक पटक सरकार बनाउने र गिराउने खेलको अन्त्य गर्न आफूहरुले यो कदम चालेको दाबी गरेका छन् । उनले नेपाली कांग्रेस र माओवादी केन्द्रले आफ्नो दलको अस्तित्व नस्वीकारेपछि बाध्य भएर केदार कार्कीलाई सहयोग गरेको बताए ।

‘कांग्रेसको संस्थापन पक्ष तयार भएन हामीसँग सहकार्य गर्न, हामीलाई स्वीकार्न तयार भएन, माओवादी हामीलाई स्वीकार्न तयार भएन’ उनले भने, ‘जो आउँदा पनि हामी सहयोग गर्न तयार छौं भनेर खुला रुपमा नै भनेका थियौं । अन्तिम दिनमा केदार कार्कीजीले सहयोग माग्नुभयो, हामीले सहयोग गर्‍यौं ।’

मध्यावधि निर्वाचनबाट एमाले नभागेको भन्दै अनुभवको आधारमा मध्यावधि टारेको उनको भनाइ छ । कांग्रेसको संस्थापन र माओवादीले एमालेलाई विश्वास नगरेकाले केदार कार्कीलाई साथ दिएको उनले बताए ।

संघीयताको उल्लंघन गर्दै सत्ता गठबन्धनले ठाडो हस्तक्षेप गरेकाले यसको विरोधमा कार्कीलाई साथ दिएको बताए ।

‘हामीले केन्द्रको तोक आदेश र चिर्कटो सम्झौताको भरमा नभएर कोशी प्रदेशको दलको निर्णयले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका हौं’, कार्कीले भने ।



प्रतिक्रिया दिनुहोस्