Logo

हामीसँग वीरता र मुर्खता दुबै भएको कारण नेपाली भनेपछि कसैले हेप्न सक्दैनः केपी ओली



काठमाडौं,१ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान पुर्खाको सन्तान हामी नेपाली भएको कारण हामीलाई हत्तपत्त कसैले हेप्न नसक्ने दाबी गरेका छन् ।

बुधबार एमाले निकट राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दसैं,तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपालीसँग वीरता र मुर्खता दुबै रहेको हुँदा चाहेर पनि कसैले हेप्न नसक्ने दाबी गरेका हुन् ।

“यो नेपाली हो भनेपछि हत्तपत्त हेप्न चाहँदैन । किनभने मुर्ख–मुर्ख छ है भनेर । हामीसँग वीरता पनि छ । हामीसँग दुईवटा कुरा छ । वीरता पनि छ, त्यसैसँगै मिसिएको मुर्खता छ । त्यसै कारण अंग्रेजसँग हार्छौंँ,” उनले भने, “उसले आइजो भन्छ, उसको सेनामा अन्यत्र गएर लड्न थाल्छौँ । अलिअलि मुर्खता झल्किन्छ । कसका विरुद्ध किन लड्ने भन्ने थाहा नभएको देखिन्छ ।”

उनले पूर्वजहरुको विद्वता र वीरताले हामीलाई चिनाएको बताए । उनले विविधतामा एकता खोज्नुपर्ने बताए । विविधतालाई विभेदको विषय बनाउन नहुने उनको भनाइ छ ।

बुधबार काठमाडौंको थापागाउँस्थित अनुपम बैंकेटमा कार्यक्रम आयोजना भएको छ । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतित्यथामा सम्पन्न कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, नेताहरु पार्वत गुरुङ, ईश्वर पोखरेल, शेरबहादुर तामाङलगायत उपस्थित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्