काठमाडौं,२ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की काठमाडौं आइपुगेका छन् । बुधबार प्रदेश सभाबाट विश्वासको मत लिएलगत्तै कार्की काठमाडौं आएका हुन् ।
शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले हिजो प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । उनलाई ६ सीट रहेको राप्रपाबाहेक सबै दलले विश्वासको मत दिएका छन् ।
नेकपा एमाले र कांग्रेसका विद्रोही ८ सांसदले समर्थन गरेपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई सिंगो नेपाली कांग्रेससहित माओवादी केन्द्र, एमाले , जसपा र नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिएको थियो ।
बुधबार साँझ काठमाडौं आएका कार्कीले हिजै कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग भेटघाट गरेका छन् । भेटवार्तामा उनले कोशीको वर्तमान अवस्था र आगामी कार्यदिशा बारे छलफल गरेका छन् ।
केन्द्रीय समिकरणले गरेको निर्णय र दिएको उर्दीविरुद्ध मुख्यमन्त्री बनेका कार्की विश्वासको मत पाईसकेपछि सरकार विस्तार गर्नेकार्यमा भने दवावमा परेका छन् । सत्ता गठबन्धको चाहना विपरित सुरुआतमै नेकपा एमालेलाई सरकारमा सामेल गराएपछि गठबन्धनभित्र कार्की दबाबमा परेका हुन् । कार्कीले मुख्यमन्त्रीको शपथ लिएको दिनमै एमालेका रान रानालाई मन्त्री नियुक्त गरेका थिए ।
तर, एमालेले तत्काल सरकरा छाड्नु पर्ने र राजनीतिक नैतिकता प्रदर्शन गर्नुपर्ने माओवादी केन्द्र र नेकपा एसको भनाई रहेको छ । बुधबारको प्रदेश सभा बैंठक सकेर बाहिरिनेक्रममा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले एमालेसँग नैतिकता भए तत्काल सरकार छाड्नुपर्ने बताएका थिए । उनले मुख्यमन्त्री कार्की सत्ता गठबन्धनको स्प्रीट अनुसार अघिबढ्ने भन्दै एमालेलाई सरकार छाडेर प्रतिपक्षमा बस्न भनेका थिए । भने नेकपा एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्र राई त एमालेलाई सरकारमा बस्ने नैतिक अधिकारसमेत नभएको दाबी गरेका थिए ।
माओवादी र नेकपा एसको आक्रमक अभिव्यक्तिको तुलनामा केही नेपाली नरम सुनिएको नेपाली कांग्रेसको संस्थापन पक्षपनि ढिलोचाँडो एमाले सरकारबाट बाहिरिओस् भन्नेनै चाहेको देखिन्छ । तर, सरकरा बनाउन सहयोग गरेको एमालेलाई तत्काल धोका दिन नहुने पक्षमा शेखर पक्ष रहेको एक नेता दाबी गर्छन । एमालेलाई पनि मिलाएर लैजाने र सत्ता गठबन्धन पनि जोगाउने रणनीतिमा रहेका कार्की केहिदिन काठमाडौंमा बसेर कोशीको सत्तामा रहन र बाहिरिने दलबाट यकिन गरेर मात्रै विराटनगर फर्किने स्रोतले जनाएको छ ।