Logo

एमालेले जिल्ला तथा पालिका तहका अधिवेशन माघ मसान्तभित्र सम्पन्न गर्ने



काठमाडौं,२ कार्तिक । नेकपा एमालेले पार्टीका जिल्ला तथा पालिका तहका अधिवेशनहरू आगामी माघमसान्तभित्र सम्पन्न गर्नेगरी योजना बनाउन सम्बन्धित कमिटीलाई परिपत्र गर्ने भएको छ ।

नेकपा एमाले केन्द्रीय संगठन विभागको गत असोज ३० गते बसेको बैठकले प्रदेश कमिटीहरूका अधिवेशन निर्धारित समयमा सम्पन्न भइसकेका हुँदा जिल्ला, स्थानीय तह र वडा तहका कमिटीका अधिवेशन सम्बन्धमा निर्णय लिएको हो ।

बैठकले फागुन र चैत महिनामा पार्टी सदस्यता नवीकरणसँगै वडा र टोल कमिटीका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले पार्टी सदस्यता प्रमाणीकरण प्रतिवेदन अनुमोदन गरेको छ । सो अनुसार भारत प्रवास र अन्तर्राष्ट्रिय कमिटी मातहतका सदस्यबाहेक पार्टीका साढे पाँचलाख सदस्यहरूको सदस्यता प्रमाणीकरण भएको छ ।

बैठकले सदस्यता स्थानान्तरण पनि खुला गरेको पार्टीका केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुंगेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । एमालेले यसअघि झण्डै एक महिना लगाएर ७ प्रदेश र उपत्यका विशेष प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको छ ।

यस्तो छ एमालेको संगठन विभागद्वारा विभिन्न सात बुँदामा गरिएका निर्णयसहितको विज्ञप्ति

नेकपा (एमाले) केन्द्रीय संगठन विभागले गत असोेज २९ र ३० गते संगठनको कामका सन्दर्भमा विभागका पूर्व प्रमुखहरूसँग मार्गदर्शन लिने काम गरेको छ । विभागको कामलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्ने सन्दर्भका देखिएका प्राविधिक समस्या र अस्पस्टतालाई स्पस्ट पार्ने र यसले दिएको दिशा निर्देशलाई आत्मसात् गर्दै निर्णय गर्न र योजना बनाउन विभागको १६औं बैठक असोज ३० गते सम्पन्न भयो ।   

संगठन विभागका पूर्व प्रमुखहरूसँगको अन्तक्रिया तथा मार्गदर्शन कार्यक्रममा संगठन विभागका पूर्व प्रमुखहरू वरिष्ठ उपाध्यक्ष कमरेड इश्वर पोख्रेल, उपाध्यक्ष कमरेड विष्णु पौडेल, सल्लाहकार परिषदका अध्यक्ष कमरेड अमृतकुमार बोहरा र स्थायी कमिटी सदस्य कमरेड खगराज अधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा उहाँहरूले आ–आफ्ना  अनुभव सहितका मार्गदर्शन मन्तव्य राख्नुभएको थियो । कार्यक्रमा पार्टी महासचिव कमरेड शंकर पोख्रेलको समेत उपस्थिति रहेको थियो । पूर्व प्रमुखहरूसँगको मार्गदर्शनले संगठन विभागलाई पार्टीको संगठनात्मक जीवनमा ठोस नीति बनाउन र निर्णय लिन योगदान पुग्ने विश्वास गरिएको छ ।

यसैगरी संगठन विभागसँग जोडिएका प्राविधिक समस्याहरूको सूची तयार पारीे संगठन विभाग र पार्टी सदस्यहरूको अभिलेख व्यवस्थापन र सञ्चालन अनलाईन प्रणाली अनुसार गर्न जिम्मा दिइएको सूचना प्रविधि तथा प्राविधिक समूह बीचको अन्तर्क्रिया पार्टीका उपमहाचिव कमरेड विष्णु रिमालको विशेष उपस्थितिमा सम्पन्न भएको छ । यस कार्यक्रमबाट अनलाईन प्रणालीमा आएका समस्याहरूको जानकारी र यसका विषयमा थप दीक्षित हुने र यसलाई तीब्र गतिका साथ व्यवस्थापन गर्न विशेष पहलकदमी गर्न विभागलाई थप उर्जा मिलेको छ । 

संगठन विभागको जिम्मेवारीमा बसेर महत्वपूर्ण योगदान गरेका नेता कमरेडहरूको अनुभवसहितको मार्गदर्शन पश्चात २०८० असोज ३० गते नेकपा (एमाले) केन्द्रीय संगठन विभागको १६औं बैठक विभागका प्रमुख कमरेड काशीनाथ अधिकारीको अध्यक्षतामा बस्यो ।  सम्पूर्ण सदस्यहरूको उपस्थितिमा बसेको यस  बैठकले गरेका महत्वपूर्ण निर्णय यस प्रकार छन्ः 

१.बैठकमा विभाग प्रमुख काशीनाथ अधिकारीले प्रस्तुत गर्नुभएको २०७९ -२०८० मा सम्पन्न पार्टी सदस्यता नवीकरण सम्बन्धी समग्र प्रतिवेदनलाई अनुमोदन गरियो । भारत–प्रवास र अन्तर्राष्ट्रिय कमिटी मातहतका सदस्यहरू बाहेक देशभित्र रहेका सदस्यहरूमध्ये संगठन विभागबाट साढे पाँच लाख सदस्य प्रमाणीकरण गरिएकोे छ । 

२.तोकिएको समयभित्रै पार्टी सदस्यता नवीकरण कार्य सम्पन्न गरी तोकिएकै समयावधिमा अधिवेशन सम्पन्न गर्न सफल भएकोमा पार्टीका सम्पूर्ण प्रदेश संगठन कमिटीहरूलाई धन्यवाद दिने र नवनिर्वाचित कमिटीहरूलाई बधाई दिने निर्णय भएको छ । त्यसका साथै नवनिर्वाचित प्रदेश कमिटीहरूले तत्काल मापदण्डका आधारमा प्रदेश कमिटीभित्र सचिवालय बनाउने, सबैलाई जिम्मेवारी हुनेगरी कार्यविभाजन गर्ने, पार्टी केन्द्रको अपानि – ७ मा उल्लेखित बार्षिक कार्ययोजनाको मार्गदर्शनमा प्रदेशको बार्षिक कार्ययोजना बनाउने र अधिवेशन पश्चात जिम्मेवारी बाहिर रहेका पार्टी नेता कार्यकर्ताहरूलाई पार्टी काममा उत्साहित ढङ्गले क्रियाशील हुने परिस्थितिको निर्माण गर्न प्रदेश कमिटीलाई ध्यानाकर्षण गर्ने ।

३.पार्टी तथा जनसंगठनका स्थानीय अधिवेशनहरूका सम्बन्धमा गरिएका निर्णयहरूः

    जिल्ला र पालिका तहका पार्टी अधिवेशनहरू माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउने र फागुन र चैत्रमा सदस्यता नवीकरण अभियान सँगसँगै वडा तथा टोल तहका पार्टी अधिवेशनहरूको आयोजना गर्ने ।
    केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गरिएको नवीकृत सदस्यहरूको सूचिमा रहेका पार्टी सदस्यहरूले मात्र स्थानीय पार्टी अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउनेछन् । 
    पार्टी आबद्ध जनसंगठनहरूको असार–असोज अभियानमा सम्पन्न गर्ने भनिएका प्रदेश तथा जिल्ला तहका अधिवेशनहरू आउने मंसिरभित्र आयोजना गरिसक्ने ।
४.पार्टीका नेता तथा कार्यकर्ताको राजनीतिक सांगठनिक विवरण व्यवस्थित गर्ने सिलसिलामा प्रारम्भमा केन्द्रीय निकायका कमरेडहरूको तत्सम्बन्धी जानकारी लिन फर्म बनाई  तीन महिनाभित्र अभिलेख व्यवस्थित गर्ने ।
५.परीक्षणकालमा रहेका नयाँ पार्टी सदस्यहरूलाई प्रारम्भिक प्रशिक्षण दिनका लागि केन्द्रीय पार्टी स्कूलसँग परामर्श गर्ने र सो बमोजिम प्रशिक्षण चलाउने ।
६.साउनदेखि रोकिएको सदस्यता स्थानान्तरण कार्यलाई बैठकले खुला गर्ने निर्णय गरेको छ । सदस्यता स्थानान्तरण गर्न चाहने सदस्यले सम्बन्धित जिल्लाको अधिवेशनको मिति नतोकिँदासम्म आफ्नो सदस्यता स्थानान्तरण गर्न सक्नुहुने निर्णय गरिएको छ । 
७.विभिन्न कारणले सम्बन्धित कमिटीको कारवाहीमा परेका तर आफ्नो कमजोरी आत्मसात् गरी लिखित आत्मालोचना गरेका र व्यवहारबाट विश्वास जितेका कमरेडहरूलाई उपयुक्त जिम्मेवारी दिएर परिचालन गर्न उदारता अपनाउन निर्देशन गर्ने निर्णय गरिएको छ । 



प्रतिक्रिया दिनुहोस्