Logo

ललितपुरको ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान



काठमाडौं, ३ कात्तिक । ‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा तीन सय ५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले ललितपुरको इमाडोलमा गरिएको कार्यक्रममार्फत जडान गरिएका सडक बत्तीको संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले ‘उज्यालो नेपाल’ कार्यक्रमअन्तर्गत अहिले हरेक घरघरमा विद्युत् पुर्याउन देशैभर चलिरहेको विद्युतीकरण अभियान करिब दुई वर्षभित्रमा सम्पन्न हुने बताए ।

महालक्ष्मी नगरपालिका क्षेत्रमा लगनखेल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेको र लाइन लामो हुँदा उपभोक्ताहरुबाट ट्रिपिङलगायतका गुनासो आउन गरेको उल्लेख गर्दै घिसिङले यसलाई सुधार गर्न अहिले सिरुटारमा सबस्टेसन निर्माण गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी गराए ।

“आन्तरिक रुपमा विद्युत् खपत बढाउन प्रणाली सुधार भइरहेको छ, यसका लागि धेरै लगानी गरिरहेका छौँ, नगरपालिकातर्फबाट जग्गा उपलब्ध गराएमा लुभु क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन पनि स्थापना गर्नेछौँ,”– उनले भने ।

नगर प्रमुख श्रेष्ठले मुल सडकमा जडान गरिएका बत्तीले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै सडकको यात्रालाई सुरक्षित बनाउने विश्वास व्यक्त गरे । सडक बत्ती कार्यक्रमलाई थप विस्तार गर्न लागिएको श्रेष्ठले बताए ।

प्राधिकरण र महालक्ष्मी नगरपालिकाको साझेदारीमा सडक बत्ती जडानका लागि दुई करोड १६ लाखमा ठेक्का सम्झौता भएको थियो । कूल लागतमध्ये प्राधिकरणले ८६ लाख र नगरपालिकाले एक करोड ३० लाख लागत साझेदारी गरेका छन् । बत्ती राख्नका लागि ६२ वटा नयाँ पोल जडान गरिएका छन् भने बाँकी सडक किनारमै रहेका पोलहरुलाई प्रयोग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्