काठमाडौं,१२ कार्तिक । चार दिने औपचारिक नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेस र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
आइतबार गुटेरेस र घिमिरेबीच संघीय संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता भएको हो । भेटका क्रममा सभामुख घिमिरले व्यस्तताबीच नेपाल भ्रमणमा आएकोमा गुटेरेसलाई स्वागत गर्दै नेपाली जनता, नेपालको संसद र व्यक्तिगत रुपमा भ्रमणको सफलताको शुभकामना दिएका थिए ।
नेपालको संसदको नियमावलीमा नै राष्ट्रसंघका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था गरेको उल्लेख गर्दै गुटेरेसको सम्बोधनलाई नेपाली जनताले पनि चासोका साथ हेरेको घिमिरेले उल्लेख गरेका छन् ।
शनिबार राती नेपाल आएका गुटेरेसले आजै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतसँग भेटवार्ता गरेका थिए । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यसूची तय भएको छ । उनले लुम्बिनी र पोखराको भ्रमण गर्नुकासाथै कार्तिक १४ गते संघीय संसद्को दुबै सदनलाई सम्बोधन गर्नेछन् ।