काठमाडौं,१४ कार्तिक । बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या आरोपमा जन्मकैदको सजाय पाएका रिगल भनिने गुण्डा नाईंके योगराज ढकालको आममाफी विरुद्धको रिटको सुनुवाई सुरु भएको छ ।
रिट मंगलबार सर्वोच्चका कायम मुकायम प्रधानन्यायाधीश इश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु कुमार चुडाल र सपना प्रधान मल्ल रहेको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो ।
रिगलको समूहले खुँडा प्रहार गरी मारेका नेपालगञ्जका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले दायर गरेको रिटमाथि सर्वोच्चले मंगलबार तेस्रो सुनुवाइ गर्न लागेको हो।
आफ्ना श्रीमानको हत्या आरोपीलाई उन्मुक्ति दिएपछि चेतन पत्नी मानन्धरले सर्वोचमा रिट हालेकी थिइन् । उनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै गत न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो । भने असोज २५ गते सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मी रहेको पूर्ण इजलासमा पेशी परेकोमा आजका लागि सारिएको थियो ।
रिगललाई सत्ता साझेदार दल नेपाली कांग्रेसको जोडवलमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवौं संविधान दिवसको अवसरमा गत असोज ३ गते आममाफी दिएका थिए । जसको अहिलेपनि चौतर्फी आलोचना भईरहेको छ । फरक फरक राजनीतिक पार्टीमा आस्था राख्ने चेतन र रिगलबीच आपसी विवाद हुँदा २०७२ असार २८ गते रिगलले खुँडा प्रहार गरेका थिए । उनले प्रहार गरेको खुँडा लागेर गम्भीर घाइते भएका चेतनको उपचारका क्रममा निधन भएको थियो ।