काठमाडौं, १५ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनमा राम्रो समझदारी रहेको उल्लेख गर्दै यही गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका छन् । प्राइम टिभीबाट आज राति प्रसारण भएको चर्चित कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् ।
उनले भने,“गठबन्धनमा राम्रो समझदारी छ । देउवाजीसँग सबभन्दा भरपर्दो सम्बन्ध छ। यो गठबन्धन टुट्दैन भन्नेमा मलाई शतप्रतिशत विश्वास छ । उहाँ (देउवाजी)सरकार ढाल्न लाग्नुहुन्न । अहिले एमाले र कांग्रेस मिल्न सम्भव नै छैन् । यो कुरामा देउवाजीसँग् गहिरो छलफल भएको छ । कुनैपनि शक्तिले देउवाजी र मलाई दुई ठाउँमा पार्ने देख्दिनँ । उपेन्द्र यादवजीको कुरा सामान्य हो । सबैले आफ्नो पार्टी चलाउनुपर्छ । यो गठबन्धन, अहिले जसरी बजारमा हल्ला छ, त्यस्तो हुँदैन् ।”
यसअघि कतिपय नेताहरुले सार्वजनिक रुपमै आफू नेतृत्वको सरकार बैशाख टेक्न नपाउने भनेर बोलेको कुरा स्मरण गराउँदै प्रधानमन्त्री दाहालले सरकारबारे यस्ताखाले हल्ला आउनु सामान्य भएको बताए । उनले भने,”मलाई साथीहरुले भन्ने गर्दथे, तैंले बैशाख देख्दैनस भनेर, अहिले त कांग्रेससँग मिलेर प्रधानमन्त्री भएपनि बैशाख कट्दैन भन्थे । पछि बैशाख कट्यो, अनि तिनीहरुले दसैं कट्दैन भन्थे, त्योपनि कट्यो । यो सबै हावा भनाई हो । मैले प्रतिपक्षीलाई पनि विश्वासमा लिएर जान बल गरिरहेको छु ।”
उनले एमालेलाई सरकारमा सहभागी गराउने भन्दापनि विद्येयकहरु टुँगो लगाउनको लागि सबैलाई विश्वासमा लिएर जान खोजेको स्पष्ट पारे । उनले भने,”एमालेसँग पनि म दूरी बढाउने पक्षमा छैन् । म एमालेको बारेमा यत्तिपनि भन्ने पक्षमा होईन ।”
कांग्रेस नेता शेखर कोइरालासँग पनि आफ्नो राम्रो सम्बन्ध रहेको उनको भनाई छ ।
उनले भने,”शेखरजीसँग लगातार कुरा भैराखेको छ । कोशी प्रदेशको सन्दर्भमा त कुरामात्रै होईन, लिखित सहमति गरेको छौं । कोशीको घट्ना अन्त विस्तार हुँदैन् । कोशीमा पनि सरकार गठबन्धनसँगै पुग्छ ।”