Logo

मोदीसँग मेरो राम्रो सम्बन्ध भएको छ, कोही कोहीलाई डाहा भएको होला : प्रधानमन्त्री दाहाल (भिडिओसहित)



काठमाडौं, १६ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले हालै सम्पन्न भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले नेपालको विश्वसामू राम्रो उपस्थिति झल्किएको बताएका छन् । उनले भने,‘युएनका महासचिवले नेपालको शान्ति प्रक्रियालाई सहयोग गर्न पाउँदा हामीलाई खुशी छ भनेर भन्नुभयो । नेपालको शान्ति प्रक्रिया सफल प्रक्रिया हो । नेपाल समृद्धिको मार्गमा अगाडि बढ्नुपर्छ भन्ने कुरा प्रष्ट भएको छ । हामीले लुम्बिनीको मायादेवी मन्दिर र अशोकस्तम्भअगाडि संयुक्त रुपमा सम्बोधन गरेका थियौं । अशोक युद्धको नेतृत्व गरेर पछि शान्तिको पक्षमा, बुद्धिज्मको पक्षमा आएको कुरा अनि मेरो युद्धबाट शान्तिमा आउने कुरा, शान्तिबाट संविधान जारी गर्ने कुरा मिल्दो छ ।’

हिजो (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले प्रधानमन्त्रीको तेस्रो कार्यकाल सुरु गर्दा नेपालको छवि राम्रो हुनेगरि विदेश सम्बन्धको बारेमा काम गरेको पनि दाबी गरे ।

उनले भने,‘मेरो भारत भ्रमण ऐतिहासिक र सफल भएको छ । इटालीमा मेरो भ्रमण खाद्यसँग् विषयमा केन्द्रित थियो । त्यहाँपनि एलडिसीको अध्यक्षको हैसियतामा मैले सम्बोधन गरेको हुँ । युएनको महासभामा पनि भाग लिएँ । अमेरिकाका राष्ट्रपतिसँगको भेटमा भयो । महासभामा जलवायु परिवर्तनबारे गम्भीर कुरा गरेको छु । नेपालको आर्थिक विकासमा हाम्रो प्रयासबारे अपिल गरेको छु । चीनसँग पनि जुन गम्भीरताका साथ छलफल भयो । विश्वासको राम्रो वातावरण बनेको छ । समझदारी बनेको छ । यो पटक नेपालको प्रधानमन्त्रीजस्तो होईन, अन्तर्राष्ट्रिय आन्दोलनको लिडरको रुपमा भूमिका खेल्न पाएकोमा गर्व छ ।’

नेपालको शान्ति प्रक्रिया छिट्टै टुँगो लाग्ने पनि उनले विश्वास दिलाए । उनले भने,‘नेपालमा शान्ति प्रक्रिया सबै मिलेर गरेको हो । संविधान बनाउँदा पनि मिलेर गरेको हो । शान्ति प्रक्रिया नयाँ संसद बन्नुअघि उहाँहरुको सहमतिमा टिआरसी विद्येयक । यस किसिमको समझदारीबाट अगाडि बढेको कुरालाई ओलीजीले किन त्यसो भन्नुभयो, मैले बुझेको छैन् । नेपाल एक छ । युएनका महासचिवको अभिव्यक्तिको बेलामा नेपाल विभाजित छ भनेर बोलेकोमा दुर्भाग्युपूर्ण भनेको छु । शान्ति प्रक्रिया टुँगो लगाउने विषयमा म, देउवाजी र ओलीजी बसेर सहमति गरेकै हो । तीन वटा समितिको सभापति दिने र टिआरसी पारित गर्ने सहमति भएकै हो । मलाई ढिलो÷चाँडो ओलीपनि सहमतिमा आउनुहुन्छ भन्ने लागेको छ ।’

टिआरसी टुँगो लगाउन युएनको भूमिका खोजेको हो ?

उनले आफूहरुले टिआरसी विद्येयक टुँगोमा पुर्याउनको लागि युएनको भूमिका नखोजेको जिकिर गरे । उनले भने,‘एमालेका साथीहरुले बिल्कुल नबुझेर वा जानीजानी भ्रम छरेको हो । दुनियाँको लागि यो महत्वपूर्ण छ । अन्तर्राष्ट्रिय समूदायबाट आवश्यक सद्भाव चाहिएको छ भनेको छु । कसैलाई यहाँ आउनु भनेको छैन् । नेपालको शान्ति प्रक्रिया हाम्रै घरबाट उम्रिएको प्रक्रिया हो । मैले हस्तक्षेप गराउन खोज्यो भन्नु वितण्डा हो । जानी बुझिकन भ्रम फैलाउनेबाहेक अरु केही होईन । यो गठबन्धन सफल हुँदै गएकोमा केही साथीहरु विक्षिप्त हुनुभएको छ ।’

प्रधानमन्त्री दाहालले आफ्नै कार्यकालमा टिआरसी टुँगो लाग्ने दाबी गरे । उनले भने,‘मैले के भन्न चाहन्छु भने विद्येयक उपसमितिबाट टुँगो लागेर फुल समितिमा आईसकेको छ । समझदारीबाट होस भनेर लगातार बल गरेको छु । सर्वसम्म्त निर्णय होस भन्ने कोशिस छ । त्यसो भएन भने प्रक्रियाबाट टुँगो लाग्छ ।’

उनले अहिले आफूहरुको सुशासन, सामाजिक न्याय, नेपालको प्रतिष्ठा बढाउने कामबाट केही मान्छे आँत्तिएको टिप्पणी गरे । उनले भने,‘उनीहरुले सकारात्मक कुरालाई सकारात्मक भन्न चाहेका छैनन् । अनावश्यक चलखेल गर्न खोजेको छन् ।’

पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित प्रधानमन्त्री प्रचण्डको चेतावनी : अहिले चुरीफुरी गरेको राम्रो हुँदैन्

प्रधानमन्त्री दाहालले देशमा अहिले अस्थिरता निम्त्याउनको लागि अनावश्यक चलखेल गर्न खोजिएको भन्दै त्यस्ता शक्तिलाई नजिकबाट नियाँलिरहेको बताए । उनले निरंकुश सामन्ती राजसंस्थाले केही पनि नदिएको भन्दै आक्रोश पोखे । उनले भने,‘म त के भन्छु भने नेपालमा निरंकुश सामन्ती राजतन्त्रले के दियो भन्ने कुरा नेपाली जनतालार्य राम्रोसँग थाहा छ । सात दशकसम्म के भयो भन्ने कुरा पनि नेपाली जनतालाई राम्रो थाहा छ । नेपाली जनताले उदारतापूर्वक पूर्वराजाहरुलाई सम्मानपूर्वक क्रियाकलाप गर्न छुट दिएका हो । अहिले चुरीफुरी गरेको राम्रो हुँदैन् । कहिलेकाहीँ अचम्म लाग्छ । गणतन्त्रले केही दिएन अनि हाम्रो संस्कार भन्छन् । कोतपर्व के संस्कार हो ? भण्डारखाल पर्व के संस्कार हो ? नारायणहिटीको भयानक हत्याकाण्ड के संस्कार हो ? नमिता समिता हत्याकाण्ड के संस्कार हो ? कलाकारको हत्या के संस्कार हो ? नेपाली जनताको त्याग, बलिदानबाट प्राप्त उपलब्धमाथि प्रश्न उठाउने अधिकार कहाँबाट प्राप्त भयो ?’

उनले देशमा विभिन्न खालका वितण्डा मच्चाउने कुरा गलत भएको टिप्पणी गरे । उनले भने, म प्रधानमन्त्री हुँदा एकथरीले वितण्डा फैलाउने काम गरेका छन् । यो वितण्डा चल्दैन् । यो अराजकता चल्दैन् । नेपालको इतिहास अनि परिवर्तनको विकासक्रम गणतन्त्रको रक्षा कसरी गर्नुपर्छ जनतालाई थाहा छ । समय आउँदा हामी जवाफ दिन्छौं ।
राजाको रुपमा ज्ञानेन्द्रलाई फर्काउँछौं भन्ने दुर्गा प्रसाई र रवीन्द्र मिश्रहरुको कुरालाई उनले असम्भवको संज्ञा दिए । उनले भने,”त्यो असम्भव कुरा नबोल्दा राम्रो हुन्छ । विल्कुल असम्भव हो ।” उनले नेपाली जनताले अब इतिहासको अघि बढेको चक्का पछाडि नफर्काउने दाबी गरे ।

उनले भने,‘गणतन्त्रले दिइराखेको छ । हो, जति हुनुपर्ने हो त्यति भएको छैन् भन्ने मलाई पनि लागेको छ । झण्डै १० वर्ष त संविधान लेखनमा नै लाग्यो, संविधान बनाउन । ऐन बनाउन समय लागिरहेको छ । नेपाली जनता इतिहासको चक्का पछाडि फर्काउन चाहँदैनन् । सरकारले संविधानविरोधी गतिविधिलाई गम्भीर रुपमा लिएको छ । सरकार र दलहरुले संविधानविरोधी गतिविधिलाई सहज ढंगले लिएका छैनन् । म उनीहरुको नाम त लिन चाहँदिन, उनीहरुको केही अर्थ छैन् । सरकार गम्भीर तयारीमा छ । सामाजिक सद्भाव खलबल्याउने काम सह्य हुँदैन् । सामाजिक सञ्जाल र कोठे बैठकहरुमा भ्रम सिर्जना गर्ने कोशिस भैराखेको छ । यसबाट केही हुनेवाला छैन् । यो अगाडि बढिसकेको छ । ०४६ सालको जनआन्दोलनबाट मुलुक अघि बढ्यो । ०६२। ६३ को जनआन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भयो, अब देश समाजवादी गणतन्त्रमा जान्छ । पछाडि फर्किन्छ भन्नु मुर्खाताबाहेक केही होईन । यो बौद्धिक दरिद्रता र दार्शनिक दरिद्रता हो ।’

उनले आफ्नो राप्रपाका नेताहरुसँग लगातार कुराकानी भैराखेको पनि सुनाए । उनले भने,‘अहिले नै त्यस्तो हुन्छ भन्ने विश्वास उनीहरुमा छैन् । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भैसकेको छ ।’

आफूले केपी ओलीकै सहमतिमा जनयुद्ध दिवसमा विदा दिने निर्णय गरेको सुनाए । उनले भने,‘जनयुद्ध दिवस मनाउने प्रस्ताव गर्दा एमाले पनि सरकारमा थियो । मैले केपीजीलाई सोधेर गरेको हो । नेपाली कांग्रेसलाई पनि सोधेको हो । विभिन्न दिवसहरु मनाउने चलिराखेको छ । जनयुद्ध नेपालको ऐतिहासिक मोड हो । जनयुद्ध नभएको भए शान्ति प्रक्रिया हुँदैन थियो । केपी ओलीजी त सरकारमै हुनुहुन्थ्यो, त्यतिवेला हाम्रो गठबन्धन एमालेसँग थियो । जनयुद्धलाई पनि स्थापित गर्नुछ भनेको थिएँ । नेकपा हुँदा फागुन १ गते जनयुद्ध दिवस बसेर मनाउने गरिएको थियो । केपी ओलीसँग सहमति भएर गरेको हो । नेकपामा हुँदा उहाँ चाहीँ विभिन्न बहाना गरेर आउनुहुँदैन थियो । मैले त त्यो दिन पनि ऐतिहासिक भनेको हो । यो कुरा दुनियाँलाई थाहा छ । नेकपामा हुँदा हामीले धुम्बराहीमा मनाउने गरेको । अहिले आएर विरोध गर्नु ओलीजीको कुतर्क हो । यो प्रक्रियालाई डिरेल गर्न खोज्नुभएको छ । पार्टी एकता गर्दा जनयुद्ध महान भनेर सही गर्नुभयो । जनयुद्धकै कारण गणतन्त्र आयो भन्नुभयो । केपीजी तपाईंले सही गर्नुभएको छ । जनयुद्धकै कारण देशमा नयाँ परिस्थिति बन्यो भनेर स्विकार गर्नुभएको छ । यस्तो दिउँसै रात पार्ने कुरा गर्नुभएन नि त । आफू प्रधानमन्त्री हुन पाउँदा जनयुद्ध दिवस मान्ने अनि आफूले पद नपाउने स्थितिमा घृणाको साथ यस्तो कुरा गर्ने ?’

उनले जनयुद्धको चर्को विरोध गरेका ओलीलाई आँफैभित्र फर्किएर हेर्न सुझाव दिएका छन् । उनले भने,‘माओवादीसँग एकता गर्दाको दस्तावेजमा हस्ताक्षर गरेको हेर्नुहोस । मंसिर ५ गते शान्ति दिवस पनि मनाउने हो । एमालेको निश्कर्ष अवसरवादी हो । रिस उठेको बेलामा कसले वेद पढ्छ र ? अहिले जुन विद्येयक सदनमा छ, त्यसले युएनको महासचिवले भनेकोजस्तो सर्वोच्चले भनेअनुसार पीडितकेन्द्रित छ । गम्भीर अपराधीलाई छुट दिन लाग्यो भनेर भ्रम फैलाईएको छ । त्यो गलत हो ।’

भ्रष्टाचारका काण्डहरु निश्कर्षमा नपुर्याएको भनेर आफूविरुद्ध गलत प्रचार भएको उनको दाबी छ । उनले भने,‘म अलमलिएको छैन् । म अलमलिएको भनेर ठानेको कुरा सत्य कुरा होईन । नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले उचित टुँगो लगाउँछ । ललिता निवास प्रकरण पनि अदालतमा पुगेको छ, त्यसले उचित टुँगो लगाउनेछ । सुन काण्डमा उच्चस्तरीय आयोग बनेको छ । सुशासनको अभियान रोकिँदैन् । म प्रधानमन्त्री हुँ, अब सिमाभित्र रहेर बोल्नुपर्छ भनेर ज्ञान प्राप्त भएको छ । गम्भीर ढंगले सुशासन अभियानमा छु ।’

सुन प्रकरणमा महरालाई बचाएको एमालेको आरोप पनि झुठो भएको उनको भनाई छ । उनले भने,‘यो ठूलो झुठ हो । मैले प्रहरी, सिआईबी, आईजिपी, गृहमन्त्रीसमेत बसेर यो के हो ? भनेर भनेको थिएँ । प्रधानमन्त्रीको सहयोद्धा भनेर सोधपुछ नगरेको हो ? भनेर सोधेको हुँ । कतै प्रधानमन्त्रीलाई असफल बनाउन खोजेको त होईन भनेर पनि सोधेको छु । राहुल महराको कुरा आउँछ । दिनदिनै मिडियामा आउने । उनीहरुले महरालाई बयान लिए । मैले बचाउन खोज्यो ? म सुशासनको लागि संकल्पवद्ध भएर हिँडेको छु । यदि छानबिन प्रक्रियामा प्रचण्डै नै देखापरे पनि अनुसन्धान गर्नुहोस भनेर भनेको छु ।’

ललिता निवास प्रकरणमा बाबुराम भट्टराई र माधव नेपाललाई पनि सिआईबीले बयान लिएको सुनाए । उनले भने,‘पहिलोपटक माधव नेपालजी र बाबुरामजीलाई घण्टौं बयान लिएको छ । यति काम अरु कसले गर्यो ? हल्ला गर्नुबाहेक यथार्थ धरातलमा उभिएर अनुसन्धान प्रक्रियालाई गम्भीर रुपमा कसले लग्यो । अझै अगाडि बढ्नुपर्छ भन्ने तयारीमा छु ।’

अहिलेको गठबन्धन पाँचै वर्ष टिक्ने उनको दाबी छ । उनले थपे–‘पहिलो कुरा मलार्ई के लाग्छ भने यो निर्वाचनअघि नै बनेको गठबन्धन हो । हामी यही गठबन्धनबाट स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन लडेको हो । सरकार बनाउने विषयमा देउवा र म बीच समझदारी भएको थियो । पछि देउवालाई अप्ठ्यारो परेपछि छोड्न तयार भएको व्यक्ति हुँ । अहिले यो कुरा सभापति देउवाजीलाई राम्रो थाहा छ । म एउटा नैतिक अप्ठ्यारोमा के मा परें भने सभापतिजीसँग पनि सल्लाह गरेर, मेरो मृत्युशैययामा भएको श्रमती सितालाई पनि भनें हाम्रो सहमति भयो । म अब तेस्रोपटक प्रधानमन्त्री भएर बालुवाटार जाँदैछु । मैले मृत्युशैय्यामा भएको, डेथ बेडमा भएको श्रीमती, त्यतिवेलासम्म उनले सबै थाहा पाउने हुन्थ्यो । बढो उत्साही भइनँ । मैले केही समय भएपनि उनको मनोबल अलिक बढ्ला र अलिक केही समय बाँच्लिन भन्ने थियो । त्यो नभनेको भए मलाई देउवाजीलाई प्रधानमन्त्री बनाउन केही आपत्ति हुने थिएन । यही रियालिटी हो । ठीक त्यो बेलामा ओलीजीले फेरि आउनुहोस, तपाईं आउनुहोस प्रधानमन्त्री बनाउन सहमत छौं भनिसकेपछि मैले श्रीमतीलाई दिएको वचन पूरा गर्नकोलागि म उता गएँ, त्यहीपनि २ बजेसम्म खुमलटारबाट तीनकुनेसम्म आइपुग्दा म देउवाजीकहाँ जाने मनशायमा थिएँ । मैले सदनमा केपीजीलाई धन्यवाद भनेको छु । तर, हाम्रो मतभेद टुँग्गियो भनेको थिईनँ ।’

एमाले अध्यक्ष केपी ओलीले संसद् विघटन गर्नु ठीक थियो भनेर भनेपनि आफू र एमालेबीच असमझदारी सुरु भएको उनको स्पष्टोक्ति थियो । उनले भने,‘एमालेसँग मुख्य कुरा दरार त्यहीँबाट सुरु भयो । संसद् विघटनको विरुद्धमा मैले तीन तीन पटक लाखौं जनता उतारेको छु । एमालेको समर्थनमा प्रधानमन्त्री भएपनि मेरो नेपाली कांग्रेससँग घृणा भएको थिएन । कांग्रेससँग भरोसा र विश्वास तोडिएको थिएन । मेरो प्रेम टुँग्गिएको थिएन । विश्वासको मत पाइसकेपछि एमालेलाई धोका दिने मनशाय थिएन । कांग्रेसको पनि मत पाएँ । सभामुखमा एमालेको प्रस्ताव पास गरें । उपसभामुखमा रास्वपालाई प्रस्ताव गरें, मैले एमालेसँग पनि प्रधानमन्त्रीमा आलोपालोको सिद्धान्त मानेको हुँ । कांग्रेसलाई राष्टपति दिएर गल्ती गरेको होईन । एमालेलाई सभामुख नदिईकन म यता आउन सक्थें नी । मैले त्यसो गरिनँ ।’

एमालेसँग पनि म दूरी बढाउने पक्षमा छैन् : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनमा राम्रो समझदारी रहेको उल्लेख गर्दै यही गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरे । उनले भने,“गठबन्धनमा राम्रो समझदारी छ । देउवाजीसँग सबभन्दा भरपर्दो सम्बन्ध छ। यो गठबन्धन टुट्दैन भन्नेमा मलाई शतप्रतिशत विश्वास छ । उहाँ (देउवाजी)सरकार ढाल्न लाग्नुहुन्न । अहिले एमाले र कांग्रेस मिल्न सम्भव नै छैन् । यो कुरामा देउवाजीसँग गहिरो छलफल भएको छ । कुनैपनि शक्तिले देउवाजी र मलाई दुई ठाउँमा पार्ने देख्दिनँ । उपेन्द्र यादवजीको कुरा सामान्य हो । सबैले आफ्नो पार्टी चलाउनुपर्छ । यो गठबन्धन, अहिले जसरी बजारमा हल्ला छ, त्यस्तो हुँदैन् ।’

यसअघि कतिपय नेताहरुले सार्वजनिक रुपमै आफू नेतृत्वको सरकार बैशाख टेक्न नपाउने भनेर बोलेको कुरा स्मरण गराउँदै प्रधानमन्त्री दाहालले सरकारबारे यस्ताखाले हल्ला आउनु सामान्य भएको बताए । उनले भने,‘मलाई साथीहरुले भन्ने गर्दथे, तैंले बैशाख देख्दैनस भनेर, अहिले त कांग्रेससँग मिलेर प्रधानमन्त्री भएपनि बैशाख कट्दैन भन्थे । पछि बैशाख कट्यो, अनि तिनीहरुले दसैं कट्दैन भन्थे, त्योपनि कट्यो । यो सबै हावा भनाई हो । मैले प्रतिपक्षीलाई पनि विश्वासमा लिएर जान बल गरिरहेको छु ।’

उनले एमालेलाई सरकारमा सहभागी गराउने भन्दापनि विद्येयकहरु टुँगो लगाउनको लागि सबैलाई विश्वासमा लिएर जान खोजेको स्पष्ट पारे । उनले भने,‘एमालेसँग पनि म दूरी बढाउने पक्षमा छैन् । म एमालेको बारेमा यत्तिपनि भन्ने पक्षमा होईन ।’
कांग्रेस नेता शेखर कोइरालासँग पनि आफ्नो राम्रो सम्बन्ध रहेको उनको भनाई छ । उनले भने,‘शेखरजीसँग लगातार कुरा भैराखेको छ । कोशी प्रदेशको सन्दर्भमा त कुरामात्रै होईन, लिखित सहमति गरेको छौं । कोशीको घट्ना अन्त विस्तार हुँदैन् । कोशीमा पनि सरकार गठबन्धनसँगै पुग्छ ।’ सो क्रममा उनले माओवादीले सडक आन्दोलन गर्ने भनेको कुरा पनि असत्य भएको बताए । उनले माओवादीको कार्यक्रम जनपरिचालन हुने बताए ।

उनले आफूमाथि भारतको इशारामा चलेको भनेर लगाईएको आरोपको पनि खण्डन गरे । उनले भने,‘यो भ्रमपूर्ण आरोप हो । भारतसँग राम्रो सम्बन्ध बनाउन खोजेको हो । मोदीसँग मेरो राम्रो सम्बन्ध भएको छ । उहाँसँग राम्रो सम्बन्ध भएको बेलामा कोही कोहीलाई डाहा भएको होला । प्रचण्डको भारत, अमेरिका र चीनसँग पनि राम्रो सम्बन्ध भयो भनेर एकथरीलाई त अलिक ईष्र्या भएको हुनसक्छ ।’ उनले एमाले र माओवादीबीच तत्काल एकता सम्भव नरहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्