काठमाडौं, १६ कार्तिक । नेकपा (माओवादी केन्द्र) ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमणलाई नेपालको लागि गौरवको विषय भएको बताएको छ । उसले महासचिव गुटेरेसको नेपाल भ्रमणले बहुआयमिक र विशेष अर्थ राखेको स्पष्ट पारेको छ ।
आज (बिहीबार) पार्टी हेडक्वार्टर पेरिसडाँडामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् । उनले विशेष परिस्थितिमा गुटरेसको नेपालको भ्रमण हुनु गौरवको विषय भएको बताए ।
उनले भने,‘बुद्ध जन्मेको भूमिबाट विश्वशान्तिको अपिल गर्नु गौरवका विषय हो । त्यस्तै विश्वले भोगेको जलवायु परिवर्तनको समस्यालाई लिएर सगरमाथा र अन्नपूर्ण क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्नु दुर्लभ घटना हो, त्यसका साथसाथै नेपालको शान्ति प्रक्रिया निकै पेचिला र जटिल मुद्दाहरू समाधान भइसकेको छ । तर पनि निष्कर्षमा पुगेका छैन । हामी शान्ति प्रक्रियामा आइसकेपछि ४ चारवटा निर्वाचन भइसकेको छ । यसले पनि नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले टुङ्गो लागेको पुष्टि भएको छ । अब पीडित पक्षलाई ध्यानमा राखी अन्तर्राष्ट्रिय पक्ष, राष्ट्रिय दृष्टिकोण राखेर बाँकी काम पुरा गर्न महासचिवको भ्रमणले धेरै योगदान गरेको छ ।’
सो क्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि सबै परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्ने बताए ।
Photo By: Mukunda Kalikote/ReportersNepal