काठमाडौं,१७ कार्तिक । कोशी प्रदेशमा दुई मन्त्री नियुक्त हुने भएका छन् । सत्ता साझेदार दल नेकपा एमालेको असहमतिकाबीच मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गर्न लागेका छन् ।
मुख्यमन्त्री कार्कीले गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक–एक जनालाई मन्त्री नियुक्तिको तयारी गरेका हुन् ।
उच्च स्रोतका अनुसार माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट पाँचथरका कमल जवेगु मन्त्री नियुक्त हुन लागेका हुन् ।
यसअघि कार्कीले एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।
एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले माओवादी र समाजवादीलाई सरकारमा सामेल नगर्न दवाव दिँदै आएको छ । तर, केन्द्रीय सत्ता गठबन्धनमा आवद्ध दलहरुको चपेटामा परेका कार्कीले अन्तत माओवादी र समाजवादीलाई सरकारमा सामेल गराउने भएका हुन् ।
उनलाई विशवासको मत दिएको जसपाले भने सरकारमा नजाने निर्णय गरेको छ ।