Logo

भूकम्प प्रभावित क्षेत्रमा सरकारको प्राथमिकता : उद्धार र उपचार



काठमाडौं, १८ कात्तिक । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर हिजो राति गएको ६.४ रेक्टर स्केलको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा सरकारले उद्धार र उपचारलाई प्राथमिकता दिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।
‘रातभरि एम्बुलेन्समार्फत उद्धारका काम भएका छन् । उडानको काम बिहान मात्र हुन सक्यो । यस्तो बेला जनप्रतिनिधिको मृत्यु भएको छ, जाजरकोटका प्रमुख जिल्ला अधिकारी नै घाइते हुनुहुन्छ । केन्द्रीय रुपमा पर्याप्त समन्वय भइरहेको छ । घाइतेको वर्गीकरण गरेर उपचारमा पठाउने व्यवस्था मिलाएका छौं । अहिले सरकारको प्राथमिकता उद्धार र उपचार हो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा भट्टराईले भने । जाजरकोट र रुकुम पश्चिमका छिमेकी जिल्ला मृत्यु र घाइतेको तथ्यांक गृह मन्त्रालयसँग नभएको पनि उनले बताए ।
यसैगरी, कर्णाली प्रदेशका अर्थमन्त्री वेदराज सिंहले भूकम्प प्रभावित क्षेत्रमा डाक्टर, मेडिसिन र एम्बुलेन्स स्थलमार्गबाट पनि पठाइसकेको बताए । प्रदेश सरकारले हिजो राति अनेक प्रयास गर्दा पनि नाइटभिजन हेलिकप्टरको प्रबन्ध हुन नसकेको बताए ।



प्रतिक्रिया दिनुहोस्