काठमाडौं, १९ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आजबाट त्रिपाल, कम्बल र खाद्यान्न वितरण सुरु गरिने बताएका छन् । जाजरकोटमा प्रदेशका अर्थमन्त्री र रुकुमपश्चिममा आन्तरिक मामिला मन्त्रीको नेतृत्वमा राहत बाँड्ने काम हुने पनि शर्माले बताए ।
‘हिजो दिनभरि हामी उद्धार र उपचारमा लाग्यौं । आज पनि हामी फिल्डमै हुन्छौं । घाइतेको अवस्था हेर्छौं । भूकम्पपीडितलाई जतिसक्दो चाँडो खाद्यान्न, त्रिपाल र कम्मल जोहो गरेर सबैतिर राहत पुर् याउने प्रयत्न गर्दैछौं । त्यसपछि स्थायी बसोबासका लागि पनि पहल गर्छौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
मुख्यमन्त्री शर्माले आज जाजरकोटमा कर्णाली प्रदेशका अर्थमन्त्री र रुकुममा आन्तरिक मामिला मन्त्रीको कमान्डमा राहत वितरण कार्यक्रम हुने पनि शर्माले बताए । उनले थपे, ‘आजबाट राहत वितरणको सुरुवात गछौं । कति भ्याइन्छ, कति सकिन्छ ? हेलिकप्टरबाट कति सकिन्छ ? बस्ती छिरलिएको छ । भौगोलिक अवस्था ज्यादै कठिन छ ।’
संघीय सरकार, स्थानीय तह र प्रहरी प्रशासनसँग मिलेर कठिन परिस्थितिको सामना गरिने र एकद्वार प्रणालीबाट सहयोग वितरण हुने पनि उनले बताए । शर्माले भने, ‘हामीले विपद् व्यवस्थापन कोषमा रकम छुट्याएका छौं । त्यो स्थानीय तहमार्फत वितरण हुन्छ । अहिले राहतका निम्ति व्यक्तिगत ढंगले गएर जानु राम्रो हुँदैन । संघीय सरकारले पनि प्रदेशमार्फत जानुपर्छ ।’
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर अस्ति राति गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी कर्णाली प्रदेशका जाजरकोट र रुकुमपश्चिममा १५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।
मुख्यमन्त्री शर्माले जाजरकोटमा चार हजार र रुकुम पश्चिममा दुई हजार घर भत्केको अनुमान गरिएको बताए । उनले भने, ‘भूकम्प प्रभावित जिल्लामा कति घर भत्केका छन्, कति बनाउनुपर्ने हो भन्ने यकिन भइसकेको छैन । अब कस्तो किसिमको घर कहाँ कहाँ बनाउने भन्ने सम्बन्धमा भौतिक मन्त्रालयमार्फत छिटोभन्दा छिटो सर्भे गरेर काम थाल्छौं ।’