Logo

पर्यटकीय गन्तव्य बन्दै सुरुङ मार्ग



लमजुङ, १९ कात्तिक । लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा निर्माण गरिएको सुरुङ मार्गले पर्यटकलाई आकर्षण गर्न थालेको छ । केही वर्षअघि ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत्ले आयोजना गरेको यो सुरुङ मार्गमा यतिबेला पर्यटकीय गन्तव्य बन्दै गएको हो ।

यस मार्गले पर्यटकलाई आकर्षित गरेको बताउँदै दैनिक दुई हजारदेखि दुई हजार तीन सयसम्म पर्यटक दैनिक यहाँ अवलोकन तथा घुम्न आउने गरेका गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । उनका अनुसार उत्तरी लमजुङका ग्रामीण भाग र मनाङ जाने सवारी सोही बाटो भएर आवतजावत गर्दछन् ।

अन्नपूर्ण पदमार्गमा आउने पर्यटकसमेत यहाँ आउने गरेका अध्यक्ष गुरुङले बताए। यहाँ आउने पर्यटकले सुरुङ मार्गमा फोटो खिच्ने, भिडियो तथा टिकटक बनाउने गर्ने गरेका स्थानीय बताउँछन् ।

तीन सय ४० मिटर लम्बाइ रहेको उक्त सुरुङभित्र यात्रा गर्दा छुट्टै रमाइलो हुने गरेको पर्यटक बताउँछन् । “आफ्नै देशभित्र फरक अनुभव लिन पाउँदा आनन्द लाग्दो रहेछ”, तनहुँबाट सुरुङमार्ग हेर्न आएका सम्झाना घिमिरेले भनिन् ।

विशेष गरी बिदाको दिन विद्यार्थी, कर्मचारी तथा अन्य सर्वसाधारणको भीड हुने गरेको अध्यक्ष गुरुङले बताए । यस सुरुङ मार्ग नजिकै रहेको हामखोला झरनामा समेत पर्यटक आउने गरेका छन् । सुरुङमार्ग र जलविद्युत् आयोजनासमेत भएपछि भुलभुले आन्तरिक तथा बाह्य पर्यटकको नयाँ गन्तव्य हुने स्थानीयवासीले अपेक्षा गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्