Logo

दुई उप-महासचिवको नेतृत्वमा एमालेद्धारा मध्यपहाडि लोकमार्गको अवलोकन सम्पन्न



काठमाडौं,२१ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मध्यपहाडि (पुष्पलाल) लोकमार्गको यात्राको तयारी र व्यवस्थापनको गृहकार्यका लागि उक्त लोकमार्गको अवलोकन गरेको छ ।

एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठकबाट तय गरिए बमोजिम पार्टीका उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल नेतृत्वका दुई टोलीले पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि सुदूरपश्चिमको झुलाघाट (वैतडी) सम्मको सिङ्गो मध्यपहाडि लोकमार्गको अवलोकन गरेको हो ।

यही कात्तिक १६ गते उपमहासचिव ज्ञवालीको नेतृत्वको टोलीले चिवाभञ्ज्याङ र उपमहासचिव रिमाल नेतृत्वको टोलीले झुलाघाट (वैतडी) बाट शुरु गरेको अवलोकन भ्रमण ५ दिनमा दुबैतर्फका टोली धादिङमा भेट भई सम्पन्न भएको हो।

मधेशबाहेकका छवटा प्रदेशलाई समेट्ने मध्यपहाडि लोकमार्गमा पर्ने सबै जिल्लामा पुगेर टोलीले स्थानीय पार्टी नेतृत्वसँग यात्रालाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको छ । दुबै टोलीको अवलोकन भ्रमणका आधारमा प्रतिवेदन तयार गरी सचिवालयमा प्रस्तुत गरिने र त्यसपछि आवश्यक निर्णय लिइने उपमहासचिव रिमालले वताउए ।

उपमहासचिव ज्ञवाली नेतृत्वको टोलीमा केन्द्रीय सदस्य किरण पौडेल, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डेका साथै जिल्ला कमिटीका इन्चार्ज रहनुभएका केन्द्रीय सदस्यहरू, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरू सहभागी थिए ।

त्यसैगरी उपमहासचिव रिमाल नेतृत्वको टोलीमा केन्द्रीय सदस्य विष्णु रिजाल, नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ र पार्टीको केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभाग सदस्य लोकबहादुर भण्डारीका साथै जिल्ला कमिटीका इन्चार्ज रहेका केन्द्रीय सदस्यहरू, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरू सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्