Logo

एमालेको सामाजिक सेवा केन्द्रले भूकम्प पीडितका लागि एक करोडको राहत सामग्री वितरण गर्ने



काठमाडौं,२१ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जाजरकोट भूकम्पमा परी घरबारवीहीन भएका पीडितलाई राहत सामग्री वितरणको तयारी गरेको छ ।

पार्टीको सामाजिक सेवा केन्द्रले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरूका लागि राहत सामग्री पठाउने तयारी गरेको हो ।

केन्द्रका प्रमुख एवं नेकपा एमालेका केन्द्रीय सदस्य मोतिलाल दुगडका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भूकम्पको बिपत्तिमा परेकाहरूलाई सहयोग गर्नका केन्द्र अग्रसर भएको हो ।

केन्द्रले भूकम्प पीडितका लागि चामल, दाल, चाउचाउ, विस्कुट, नुन जस्ता खाद्य सामग्री उपलब्ध गराउने छ । यसैगरी जाडोबाट पीडितलाई बचाउनका लागि कम्मल र टेन्ट पनि वितरण गर्न लागिएको दुगडले जानकारी दिए ।

दुगडका अनुसार राहतका लागि पठाइने सामग्रीमध्ये केही काठमाडौंमा खरिद गरिएको छ भने केही सामग्री नेपालगञ्ज, दाङ लगायतका ठाउँमा खरिद गरिएको छ ।
पहिलो चरणको राहत सामग्री भोलिसम्म पीडितहरूसम्म पुर्याउने तयारी भएको छ । दोस्रो चरणमा थप राहत सामग्री उपलब्ध गराइने दुगडले जानकारी दिए । एमालेले सामाजिक सेवा केन्द्रमार्फत् दुई चरण गरेर एक करोड रुपियाँ बराबरको राहत सामग्री वितरण तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्