Logo

सिस्नुपानी नेपालले यस वर्ष देउसी कार्यक्रम नगर्ने,भूकम्प पीडितलाई ५० हजार सहयोग गर्ने



काठमाडौं,२१ कार्तिक । सिस्नुपानी नेपालले यो वर्ष देउसी कार्यक्रम नगर्ने भएको छ।

गत शुक्रबार गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको ठूलो क्षति पुगेको भन्दै उसले देउसी कार्यक्रम नगर्ने भएको हो।

​सिस्नुपानी नेपालका महासचिव टंकराज आचार्यले ​भूकम्पको पीडाका कारण सिस्नुपानी देउसी कार्यक्रम यो वर्ष स्थगित गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

आचार्यले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोग स्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।

बैठकपछि सिस्नुपानी नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ,‘बैठकले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोग स्वरूप रु ५०,००० उपलव्ध गराउने निर्णय गरेको जानकारी गराउँदै विगत २५ वर्षदेखि हरेक वर्षको तिहार पर्वका अवसरमा प्रस्तुत गर्दै आएको सिस्नुपानी देउसी कार्यक्रम यो वर्ष २०८० का लागि स्थगित गरिएको व्यहोरा दुःखका साथ जानकारी गराउँछौं ।’

‘दुःखको यस घडीमा भूकम्पबाट ज्यान गुमाउन पुगेका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत भएकाको परिवारजनमा गहिरो समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

सिस्नुपानी नेपालले प्रज्ञा भवनमा विगत २५ वर्षदेखि देउसी कार्यक्रम आयोजना गर्दै आएको छ । कोरोना महामारीले केहीवर्ष कार्यक्रम रोकिएपनि गत वर्ष भौतिक उपस्थितिमै कार्यक्रम आयोजना भएको थियो । सिस्ुपानीले वर्षभरी भए गरेका कामहरु र राजनीतिक गतिविधलाई व्यंग्यात्मकरुपमा प्रस्तुत गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्