सर्लाही, कात्तिक २२ । धनकौल गाउँपालिकाका एक जना वडाध्यक्ष पुर्पक्षमा कारागार चलान भएका छन् ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले ज्यान मार्ने उद्योगमा धनकौल गाउँपालिका–५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको हो ।
केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा मुद्दा दायर भएको थियो ।
मुद्दा दायर भएदेखि फरार रहेका महतो मङ्गलबार आफै अदालतमा उपस्थित भएका थिए । न्यायाधीश थापाको इजलासले मुद्दाको अन्तिम फैसला नआउन्जेल वडाध्यक्ष महतोलाई पुर्पक्षमा कारागार पठाउने आदेश गरेको हो ।
महतो स्थानीय तह निर्वाचन–२०७९ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।