Logo

संगठनमाथि लगाएको आरोप पुष्टि गर्न कान्तिपुर मिडिया ग्रुपलाई महासंघको चुनौती



काठमाडौं,२२ कार्तिक । नेपाल पत्रकार महासंघले संगठनमाथि लगाएको आरोप प्रमाणीत गर्न कान्तिपुर मिडिया ग्रूपलाई चुनौती दिएको छ ।

महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा आज बसेको केन्द्रीय समितिको बैठकले नेपाल पत्रकार महासंघलाई गम्भीर लाञ्छना लगाएर कान्तिपुर मिडिया ग्रुपले निकालेको प्रेस विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले कान्तिपुरले विज्ञप्तिमा लगाइएका विभिन्न आरोप पुष्टि गर्न चुनौती दिएको छ ।

‘गैरकानूनी ढंगबाट निष्कासित पत्रकारलाई श्रमजीवी पत्रकार ऐनअनुसार सेवा, सुविधा दिन छाडेर महासंघलाई विभिन्न आरोप लगाउनुले महासंघले यसअघि कान्तिपुरको सम्पादकीय स्वतन्त्रतामाथि उठाएको प्रश्नलाई पुष्टि गरेको छ’ । महासंघले भनेको छ‘महासंघको विश्वसनीयतामा प्रश्न गर्ने कान्तिपुरले कानुनको पालना गर भन्ने कुरालाई विभिन्न आरोप लगाएर प्रेस स्वतन्त्रताको चरम दुरुपयोग गरेको महासंघको ठहर छ ’।

कान्तिपुर मिडिया ग्रूपले गैरकानूनी ढंगले निष्कासन तथा सरुवा गरेका पत्रकारले आफूले पाउनु पर्ने सुविधा पाऊ भनेर आवाज उठाउदा सुन तस्करी, भ्रष्टाचार वा बेथितिसँग जोडेर विषयान्तर गर्ने स्तरहीन तथा टिप्पणी गर्न पनि लायक नभएको विज्ञप्तिको विषयमा जवाफ नदिने पनि महासंघले निर्णय गरेको छ ।

त्यस्तै महासंघको आजको बैठकले कान्तिपुर मिडिया ग्रुपका सञ्चारमाध्यमहरुले महासंघविरुद्ध प्रकाशित तथा प्रसारित समाचार पत्रकार आचारसंहितविरुद्ध रहेकाले प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने निर्णयसमेत गरेको छ ।

कान्तिपुरले नेपाल पत्रकार महासंघको ब्यानरमा सुनियोजित भ्रम फैलाउने, संस्था र नेतृत्वप्रति दुराग्रहपूर्वक लाञ्छना लगाउने र कान्तिपुरले उजागर गरेका बेथितिका बदलामा राजनीतिक प्रतिशोध लिने शृंखला चलेको भन्दै महासंघप्रति कान्तिपुर पब्लिकेशन्स्ले आरोप लगाएको थियो । उक्त अराोपविरुद्ध पत्रकार महासंघ पनि खरोरुपमा प्रतिवादमा उत्रिएको छ ।



प्रतिक्रिया दिनुहोस्