Logo

राहतमा राजनीति र जातिभन्दा माथि उठेर काम गरौं : सांसद खतिवडा



काठमाडौं, २३ कात्तिक । नेपाली कांग्रेसका नेता एवं राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले भूकम्प प्रभावित जिल्लामा पीडितको राहतमा पार्टी र जाति हेरिनु चिन्ताजनक कुरा भएको औंल्याएका छन् ।
‘अहिले पालिकासम्म त राम्ररी राहत गएको छ । वडा र टोलसम्म जाँदा अलिकति समस्या देखिएको छ । मेरो क्षेत्र, मैले जितेको क्षेत्र, तेरो वा मेरो भन्ने अवस्था देखिएको छ । अप्ठ्यारो परेका बेला जाति वा पार्टीभन्दा माथि उठेर मानवीय रुपमा लाग्नुपर्ने समय छ । राजनीति गर्ने पनि समय आउँछ । भूकम्पले जाति र पार्टी छुट्याएन भने हामीले किन छुट्याउनु पर् यो ?’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
सर्वदलीय सांसदको टोली लिएर भूकम्प प्रभावित जाजरकोट पुगेका खतिवडाले संसदीय टोलीले सरकारलाई उचित निर्देशन दिने पनि बताए । उनले थपे, ‘भूकम्प प्रभावित क्षेत्रमा जनताको अवस्था के छ ? राज्यको उपस्थिति छ कि छैन भनेर हामी अनुगमनका लागि सर्वदलीय टोली लिएर जाजरकोट आएका छौं । मेरो टोलीमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादीका हितराज पाण्डे, कांग्रेसका दिलेन्द्र बडु र बुद्धिमान तामाङ छौं । गगन थापा पनि आउनुभएको छ । उहाँ यतै बस्नुहुन्छ । हामी आज रुकुम जाँदै छौं । विश्वप्रकाश शर्मा रुकम पुगिनुभएको छ । सरकारलाई सबै रिपोर्ट दिन्छौं । छिटोभन्दा छिटो राहत दिलाउने प्रयत्न गर्छौं ।’ संसदीय टोली आफ्नै खर्चमा गाडी व्यवस्था गरेर आएको पनि उनले बताए ।
खतिवडाका अनुसार जाजरकोटमा कात्तिक १७ को भूकम्पपीडितलाई अहिलेसम्म ८० प्रतिशत राहत वितरण भएको छ । त्यहाँका ३४ हजारभन्दा बढी घरमा क्षति पुगेको छ भने १०१ मानवीय क्षति भएको छ । त्यसमा ५६ महिला र ४५ पुरुष छन् । घाइतेमा ४९ महिला र ४५ पुरुष छन् । ३६७ जना घाइतेमध्ये २६८ जना डिस्चार्ज भइसकेका छन् भने ९९ उपचाररत छन् । १ जना घाइते सुर्खेतको आईसीयूमा छन् । भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा गरी मृतकको संख्या १५३ पुगेको छ ।
भूकम्पप्रभावित क्षेत्रमा केही मान्छे फोटो खिच्न र स्टन्टबाजीका लागि आएको तर जनताले राहत पाइनसकेको पनि उनले बताए । उनले भने, ‘कतिपय व्यक्ति फोटो खिचेर देखाउन आउने तर जनताले राहत नपाएको स्थिति छ । राहत काठमाडौं, नेपालगन्ज र सुर्खेतबाट आउनुपर्छ । पहाडी भूगोल भएकाले दुई चोटिसम्म एमआई सेभेन हेलिकप्टर बस्न सकेन । सानो हेलिकप्टरमा थोरै सामान आउँछ, एकचोटिमा ल्याउन सक्ने सामान ओसार्न ६, ७ चोटिसम्म लागेको छ । इपिसेन्टरमै राहत नपुगेको गुनासो आएको छ ।’
स्वास्थ्यकर्मीको टोली पनि आधा घन्टा बसेर फर्कने गरेको खतिवडाले बताए । उनले थपे, ‘राहतहरु सदरमुकाम र त्यो नजिकको पालिकामा केन्द्रित भएजस्तो देखिन्छ । स्वास्थ्यकर्मीहरुको टोली हुर्र आउने आधा घन्टामा फर्कने जस्ता बेथिति पनि छन् । एउटा टोलीले एकथोक, अर्को टोलीले अर्कै औषधि दिएका पनि देखिन्छन् । स्वास्थ्यकर्मी आउने हो भने हप्ता दिन वा १० दिन बसिदिए हुन्थ्यो ।’
सांसद खतिवडाले विद्यालय, स्वास्थ्य चौकी र सरकारी भवनमा क्षति पुगेकाले अबको ध्यान त्यता पनि केन्द्रित हुनुपर्ने औंल्याए । उनले भने, ‘भूकम्पमा मरेका १५३ मध्ये ८३ जना त बालबालिका नै छन् । ७५ वटा स्कुल भत्कँदा हजारौं विद्यार्थी प्रभावित छन् । यसबारे सोच्न ढिला भइसकेको छ ।’ उनले घरहरु भत्किँदा ७५ प्रतिशत प्रहरी आफ्नो ठाउँमा बस्न नपाएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्