काठमाडौं,२३ कार्तिक । नेपाल पत्रकार महासंघले गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दू भएर गएको भूकम्पबाट प्रभावित बनेकाहरुका लागि सहयोग गर्न आव्हान गरेको छ ।
महासंघले जाजरकोट र रुकुम पश्चिमका गरी ५६ जना पत्रकारको घर र १० वटा सञ्चार माध्यमको कार्यालय भूकम्पबाट क्षतिग्रस्त भएको बताएको छ । नागरिकलाई सूचना र समाचार प्रवाह गर्ने पत्रकार र सञ्चार माध्यमलाई विपदका बेला राहत उपलब्ध गराउन महासंघले सहयोगको आह्वान गरेको महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत जानकारी दिए ।
सरकारी तथा गैरसरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था, नेपाल पत्रकार महासंघका स्वदेश तथा विदेशमा रहेका शाखा र महासंघसँग मैत्रीपूर्ण सम्बन्ध भएका सञ्चारसंस्थाका साथै इच्छुक व्यक्तिहरूलाई सहयोग रकम जम्मा गर्न महासंघले आग्रह गरेको छ ।