Logo

कोप–२८ मा नेपालले एक स्वरमा आफ्नो हित र क्षतिबारे दाबी गर्नुपर्छ : मन्त्री महतो



काठमाडौं, २३ कार्तिक । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले युएईमा हुने कोप–२८ मा नेपालले एक स्वरमा आफ्ना मुद्दा र पाउनुपर्ने क्षतिबारे दाबी गर्नुपर्नेमा जोड दिएका छन् ।

आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म युएईमा हुने कोप–२८ (जलवायु संरक्षण तथा वातावरण परिवर्तनसम्बन्धी विश्व सम्मेलन) बारे आज (बिहीबार) काठमाडौंमा आयोजित राउण्ड टेबल डिस्कस्नमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री महतोले यस्तो बताएका हुन् ।

सो क्रममा उनले कोप–२८ मा नेपाले जलवायु परिवर्तनबाट चुरे, मधेश, महाभारत पर्वत श्रृंखला, पहाड, हिमालका स्थानीय वासिन्दा र किसानले भोगिरहेका समस्या र त्यहाँ परिरहेको नकारात्मक प्रभावबारे तीनै तहका सरकार, विकास साझेदारी संस्थाहरु, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाजका अगुवा र विज्ञहरु सबैले एक स्वरमा नेपालको हितमा मुद्दा उठाउने र सही क्षतिपूर्तिका लागि वकालत गर्ने गराउने कुरा महत्वका साथ उठाएका थिए ।

उनले भने,“कोप–२८ बारे हामी केन्द्रित छौं । सम्मेलनमा हामीले आफ्नो क्षतिबारे कुरा उठाउनुपर्छ । जलवायु परिवर्तनले हाम्रोजस्तो देशलाई जुन किसिमले असर पारिरहेको छ, बाहिरी र आन्तरिक दुवै हिसाबले बलियो हुनेगरि हामीले तयारी गर्नुपर्छ । कोपको लागि हामीले आन्तरिक तयारी कसरी गरेका छौं ? कसरी यसलाई रोकथाम या न्यूनीकरण गर्नलाई हाम्रो विज्ञहरुको सल्लाह र सुझाव, नेपाल सरकारले गर्नुपर्ने कामहरुमा हामी सचेत रहन सक्नुपर्छ । हामीले यो भन्दापनि ठूलो दुर्घनाटबाट बच्नलाई या आउनलाई यो चीजमा हाम्रो ध्यानकार्षण जानैपर्ने हुन्छ । बास्तवमा भन्ने हो भने कोपको कुरामा नेपालले धेरै वर्षदेखि भाग लिँदै आएको अवस्था छ, त्यसमा धेरै कुराहरु उठाएको पनि छ । अझै केही कुरा उठाउन बाँकी छ ।”

मन्त्री महतोले यसअघिमा कोप सम्मेलनमा नेपालको सहभागिताबारे उल्लेख गर्दै विगतमा नेपालको तयारी कमी वा बढि जे भएपनि नेपालले पाउनुपर्ने क्षति पाउन नसकेको यथार्थ भएको सुनाए ।

उनले भने,“हाम्रो तयारी कुनैबेला कम भएको होला, कुनै बेला बढि भएको होला । हाम्रो डाटाबेसमा हामीले क्लेम गर्न सकेको छैनौं होला । तर, विश्वको नेपालप्रति हेर्ने नजर कहिल्यैपनि सकारात्मक देखिनँ । किनभन्दा भने कोप २७ मा ड्यामेज क्लेम गरेका थियौं । हामी त भिक्टिम थियौं । तर, हामीले के पायौं ? हामीजस्तै देश पाकिस्तान, श्रीलंकाकै कुरा गरौं, उनीहरुले के पाए अनि हामीले के पायौं ? बल्लबल्ल अस्ती म आउँदाखेरि यही कोपको कुरा हुँदा, कार्बनको कुरो हुँदाखेरि, कार्वन र माउन्टेनकै बारेमा कुरो गर्ने हो भने नेपालले आजदेखि होईन, वर्षौदेखि आफ्नो आन्तरिक लगानी गरेर यो ठाउँमा आएका छौं नि । हाम्रो पनि यसमा ठूलो लगानी छ नि । अस्ति हामी कोपमा जाँदैनौं भनेर मैले रिसाएर भन्दाखेरि यो तिमीहरुले कोपमा जाने कुम्भमेलाजस्तो सय÷दुई सय जना सहभागिता लिने, फर्किँदा रित्तो हात फर्किने, नेपालमा कोप कोपको हल्ला छ । कार्वनको लागि हामीले प्रेसर गर्दा बल्ल बल्ला ७ मिलियन डलर पायौं । हाम्रो उद्देश्य एउटै छ । चाहना छ । गोल एउटै छ । तर, हामी फरक–फरक झ्यालबाट छिर्न खोज्छौं । त्यसो हुँदा विदेशीहरुले हामीलाई विश्वास नै गर्दैनन् ।”

सो क्रममा नेपालले विश्वसामू गरेका प्रतिबद्धताहरु विस्तारै पूरा गरिसकेको उनको भनाई छ । उनले भने,“जंगलको कुरा गर्दा हामीले देशको भूभागको ४५ प्रतिशत पुर्याएका छौं । सबै कुरा पूरा गर्दापनि हामीले पाउनुपर्ने क्षतिपूर्ति पाएनौं भने त हामी आन्तरिक रुपमा अघि बढ्नुपर्ने हुन्छ । हाम्रो जंगल, निकुञ्ज, हरेक चिजलाई नेपालको समृद्धिसँग जोड्नुपर्छ । विश्वको लागि जोगाउने अनि हामीले पाउने । हाम्रो रिसोर्सलाई नेपालको समृद्धिसँग जोड्नैपर्छ।”



प्रतिक्रिया दिनुहोस्