Logo

काठमाडौंमा अर्घाखाँचीको पौराणिक भैरव नाच प्रदर्शन-फोटोफिचर



काठमाडौं, कात्तिक २४। अर्घाखाँचीको ऐतिहासिक, पौराणिक, धार्मिक तथा सांस्कृतिक भैरव नाचको प्रदर्शन काठमाडौँमा भएको छ । बुधबार अर्घाखाँची जिल्लावासीको आयोजना तथा सम्पदा संरक्षण महाअभियानको सहकार्यमा हनुमानढोका, वसन्तपुर (कालभैरवअगाडि) भैरव नाचको प्रदर्शन भएको हो ।

भैरव नाच अर्घाखाँचीको नेवाः समुदायले नाच्ने ऐतिहासिक, पौराणिक, धार्मिक र सांस्कृतिक नाच हो । अरू जिल्लामा यसलाई लाखे नाच भनेर भन्ने गरिए पनि अर्घाखाँचीमा भने भैरव नाच भन्ने गरिएको भैरवनाथ व्यवस्थापन समितिका संयोजक अभिमन्यु बस्यालले बताए। उनले भने, “लाखे नाचमा एउटा मुकुट लगाएर नाच्ने गरिन्छ भने अर्घाखाँचीको भैरव नाचमा तीन वटा मुकुट लगाएर नाच्ने गरिएको छ । कालो मुकुट शिवजीको स्वरूप हो भने रातो मुकुट देवीको र सेतो मुकुट गणेशको प्रतीक हो ।”

अर्घाखाँचीदेखि बुटवल र अन्य जिल्लामा स्थानीयको सहयोगमा यो नाच प्रदर्शन गरिँदै आएको छ । काठमाडौँमा यो नाच गर्नुको उद्देश्य भने काठमाडौँको नेवारी सभ्यता र संस्कृति तथा अर्घाखाँचीको सभ्यता र संस्कृतिलाई कसरी जोड्न सकिन्छ र कसरी पारस्परिक सम्बन्ध विकास गर्न सकिन्छ भन्ने रहेको बस्यालले बताए।



प्रतिक्रिया दिनुहोस्