Logo

‘द वल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा. पन्त चयन



काठमाडौँ, २४ कात्तिक । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एशियका तर्फबाट नेपालका रसायनशास्त्री प्रा डा हेमराज पन्त चयन भएका छन् ।

आजीवन सदस्यसरहका हैसियतले प्रा डा पन्तले अन्तर्राष्ट्रिस्तरको सो संस्थाको प्राज्ञिकसभामा प्रतिनिधित्व गरी चुन्ने र चुनिने अवसर पाउने भएको छ । सो संस्थामा हाल करिब एक हजार चार सय प्राज्ञ सदस्य रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका केमिकल इञ्जिनियरिङ विभागका प्रमुख प्रा डा पन्तले आफ्नो क्षेत्रमा गरेका प्रकाशन र अध्ययन–अनुसन्धानसमेतको मूल्याङ्कनका आधारमा अल्पविकसित देशका तर्फबाट प्राज्ञका रूपमा उनी चयन भएका हुन् ।

पन्त नेपाल प्राध्यापक सङ्घ, पुल्चोक क्याम्पस एकाइको सभापति पनि हुन् । यसअघि नेपालबाट प्रा डा दयानन्द बज्राचार्य, प्रा डा पिके झा, प्रा डा विशालनाथ उप्रेती र प्रा डा विजया पन्त ट्वासको प्राज्ञमा चुनिइसकेका छन्। प्रा डा पन्तले नेपालको तर्फबाट प्राप्त यस किसिमको महत्वपूर्ण जिम्मेवारीले विज्ञान–प्रविधि क्षेत्रको विकास र प्रोत्साहनमा सहयोग पुग्ने बताए ।

इटलीमा मुख्यालय रहेको उक्त संस्था सन् १९८३ मा विज्ञान र इञ्जिनियरिङ क्षेत्रमा ज्ञान र सीप आदानप्रदान गर्ने लक्ष्यका साथ विकसित मुलुकका तर्फबाट पाकिस्तानका भौतिकशास्त्री नोबेल पुरस्कार विजेता अब्दुस सलमको नेतृत्वमा स्थापित भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्