Logo

नापी कार्यालय झापाका सर्वेक्षक ठाकुर र बिचौलिया यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं,२४ कार्तिक । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षकहरु देव नारायण ठाकुर र सुबाष चन्द्र यादव तथा बिचौलिया उमेश यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले आज सर्वेक्षकद्धय र बिचौलियासमेत गरेर तीना जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

दाहालका अनुसार नापी कार्यालय, भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुर र बिचौलिया उमेश यादवले जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सेवाग्राहीबाट नगद ७० हजार रुपैयाँ नगद तथा ५५ हजार रुपैयाँको चेकसहित जम्मा १ लाख २५ हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा गत असोज २९ गते नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा नापी कार्यालय, भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर, सर्वेक्षक सुबाष चन्द्र यादव र बिचौलिया उमेश यादवसमेतले आपसी मिलोमतो र योजनामा जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्न गराउनको लागि सेवाग्राहीसँग घुसररिसवत लिएको पुष्टि भएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को घ बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम बिगो बमोजिम जरिवाना सजाय र एक लाख २५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा १ को घ बमोजिम हुने कैद सजायलाई आधार मानेर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्