Logo

एमालेले भूकम्पबाट प्रभावित जिल्लामा तिहार लगत्तै स्वयंसेवक परिचालन गर्ने



काठमाडौं,२४ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तिहार लगत्तै भूकम्पबाट प्रभावित जिल्लाहरुमा स्वयंसेवक खटाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयम् सेवा विभागको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य तथा विभागका प्रमुख किरण पौडेलको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा पार्टीका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य तथा स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको उपस्थिति रहेको थियो ।

बैठक गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पपछिको अवस्थामा पार्टी निर्णय बमोजिम प्रभावकारी ढङ्गले स्वयम्सेवक परिचालन गर्ने लगायतका बिषयहरूमा केन्द्रित रहेको विभाग प्रमुख किरण पौडेलले जानकारी दिए ।

बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको २५औँ बैठकले भूकम्प प्रभावित स्थानहरूमा एक हजार स्वयम् सेवक परिचालन गर्ने र भूकम्पबाट घरबारविहीन भएका नागरिकका लागि अस्थायी न्याना घरटहरा बनाउने निर्णय गरेको थियो । सोही अनुरुप घरटहरा पुनर्निर्माण,भग्नावशेष व्यवस्थापन तथा सरसफाइ, मृत चौपायाहरूको व्यवस्थापन लगायतका काममा एक हजार स्वयम्सेवक एक महिना खटाइने उनले बताए ।

बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्वयम्सेवकलाई पूर्ण अनुशासनसहितको व्यवस्थित परिचालन गराइने र त्यसका लागि आवश्यक प्रबन्धहरूका लागि पार्टीको तर्फबाट सहयोग गरिने र स्वयम्सेवकहरूलाई तिहार लगत्तै फिल्डमा उपस्थित गराउने बताइन् । विभिन्न जनसंगठनका प्रतिनिधिहरू समेत उपस्थित विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको बैठकमा पार्टीका सम्पूर्ण जनसंगठन परिचालन गरिने स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताए ।



प्रतिक्रिया दिनुहोस्