कमलामाई (सिन्धुली) २४ कात्तिक । “मरिण खोला तर्दै थियौँ । जोडले सुसाउन थाल्यो । हामी आत्तियौँ । एक्कासि खोलामा धमिलो पानीको बहाव बढ्यो । काँधमा बोकेको काँखे छोरो हाम्रा आँखैअघि बग्यो । बचाऊ ! बचाऊ ! भन्दै चिच्यायौँ । सहायता दिन अर्जुन विक खोलामा पसे । उनी तैरिन सकेनन् । पानीको भेलमा हराए । उनको शव भेटियो तर छोरो भेटिएन ।”
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले नेपालमा १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न भएको उपलक्ष्यमा बिहीबार आयोजना गरेको मरिण खोला झोलुङ्गे पुलको संयुक्त उद्घाटन समारोहमा सहभागी सुस्मिता रानामगरले छ वर्षअघिको पीडादायी घटना यसरी विस्तार गरे ।
रहरको जेठो सन्तान निरबहादुरलाई हाकपाराबाट चाँयाचुट्टी गाउँ आउने क्रममा खोलाले बगाएको थियो । यो खोला सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४पर्दछ । चाँयाचुट्टी गाउँबाट हाकपारा पुग्न पैदल झन्डै दुई घण्टा लाग्छ । निरबहादुर बिरामी भएपछि उपचारका लागि रोशन रानामगर र सुस्मिता (दम्पती) ले पालैपालो बोकेर अस्पताल पु¥याएका थिए । घर फर्किदा खोलाले बगाएको हो ।
अहिले रानामगर दम्पतीका एक छोरी र एक छोरा छन् । “ठूले खोलाको भेलमा बेपत्ता भयो । शव पनि भेटेनम । ऊ अहिले ११ वर्षको भइसक्थ्यो,…उफ ! त्यो कालो दिन…,” ३९ वर्षीया सुस्मिता भक्कानिएर थप कुरा गर्ने अवस्थामा भएनन् ।
यस्तो पीडा भोग्ने रानामगर दम्पती मात्रै होइनन् । सोही ठाउँका इन्द्रबहादुर थिङको भोगाइ पनि उस्तै थियो । उनको एक्लो छोरा कान्छालाई सात वर्षको उमेरमा खोलाले बगाएको थियो । शवसमेत भेटिएन । तीन वर्ष पहिले खोलाले बगाएर बेपत्ता भएको छोरो फर्केला भन्ने आशा छैन तर सम्झनाले भने बेलाबेला झस्काइरहन्छ उनलाई ।
चाँयाचुट्टी गाउँमा खोलाले बगाएर मर्नेका सम्झना मात्रै छैनन् । खोलामा बग्दा–बग्दै उद्धार भएपछि मृत्युलाई जितेर बाँच्नेका कथा–व्यथा पनि फरक छन् । विसं २०७२ को असार महिनामा महेन्द्रझ्याडीमा निःशुल्क आँखा शिविर भएको थियो । शिविरमा जाने क्रममा ज्येष्ठ नागरिक सोमरानी थिङलाई खोलाले बगायो । चार मिटर तलसम्म बगेपछि देव्रे खुट्टा भाँचिएको अवस्थामा उद्धार भयो । उनी छ महिना थला परिन् । उपचार गरे पनि पहिलेको जस्तो भएन । थिङलाई अहिलेसम्म हिँड्न समस्या छ ।
“खोलाले ४० मिटर तलसम्म बगाएपछि गाउँलेले उद्धार गरेर बचाए । म मृत्युलाई जितेर बाँचे”, उनले भनिन्, “मलाई अहिले पनि पानीदेखि डर लाग्छ । खोलामा पस्ने आँटै आउँदैन ।”
यता ८ कक्षामा पढ्ने सम्झना बम्जन खोलामा बाढी आएको बेला विद्यालय जान नपाउँदाको पीडाले बहकिइन् । खोला तर्ने क्रममा अघिल्लो वर्षसम्म साथीहरुको किताब, कपी बगाएको उहाँलाई सम्झना छ । सत्र वर्षदेखि श्रीमाध्यमिक विद्यालय महेन्द्रझ्याडीमा पढाउने शिक्षिका रीताकुमारी राईका अनुसार पुलको अभाव हुँदा बर्खायाममा त्यस गाउँका विद्यार्थी विद्यालय आउन पाउँदैन थिए । पढाइ छुट्थ्यो । शिक्षकले र विद्यार्थीले महिनौँ देख्न पाउँदैनथे । सम्र्पक नै टुट्थ्यो ।
“झोलुङ्गे पुल बन्नुअघि आवतआवत गर्न दुःख थियो । विद्यार्थीले पढ्न पाउँदैनथे । बिरामीलाई समयमा अस्पताल लैजान सकिँदैन थियो । दैनिक उपभोग्य वस्तु लैजान समस्या थियो । कतिले ज्यान गुमाए । कति घाइते भए”, उनले भनिन् ।
हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार तामाङ, मगर र दलित समुदायको बसोबास रहेको चाँयाचुट्टी गाउँमा दुई सय घरधुरी छन् । गाउँका आठ सय चार जनसङ्ख्यामध्ये चार सय ८० महिला र तीन सय २४ पुरुष यहाँ बसोबास गरिरहेका छन् ।
हरिहरपुरगढी गाउँपालिका–४ हाकपाराबाट चाँयाचुट्टी गाउँ जोड्ने २८३ मिटर लामो झोलुङगे पुल मरिण खोलामा निर्माण भएर उद्घाटन भएपछि यहाँका बासिन्दामा खुसी छाएको छ । झोलुङ्गे पुल बन्दा पनि धेरै सुविधा थपिएको स्थानीयवासी जितबहादुर लामाले बताए ।
उनले भने, “पुल बनेपछि हामीलाई स्वर्गजस्तो भयो । पुल सञ्चालनमा आएदेखि यो खोलामा खुट्टा चोबलेको छैन । अब पक्की पुल भएदेखि गाह्रोसारो पर्दा घरसम्म एम्बुलेन्स पुग्थ्यो ।”
मरिण खोलाको झोलुङ्गे पुल नेपाल सरकार सहरी विकासमन्त्री सीता गुरुङ र बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संयुक्तरुपमा उद्घाटन गरे । मन्त्री गुरुङले पुलले आवतजावत मात्र नभएर शिक्षा, स्वास्थ्य र गाउँको उत्पादनलाई बजारसम्म पु¥याउन सहज हुने बताइन् ।
पुललाई मान्छे तर्ने, आवतजावत गर्नेरुपमा मात्रै बुझ्यौँ भने गलत हुने उनको तर्क थियो । “हाम्रोजस्तो पहाडै–पहाड भएको नेपाल विकट भए पनि प्राकृतिकरुपमा अत्ति नै रमणीय ठाउँ छन् । मोटर बाटो बनाएर जान अर्बौं खर्चले पनि पु¥याउन सक्दैनौँ । त्यस्ता ठाउँमा पर्यटन विकासका लागि पुललाई विकास गर्ने हो भने पुर्वधारसँगै आर्थिक विकास गर्न पनि सकिन्छ”, मन्त्री गुरुङले भनिन्, “नदी र खोलामा मात्रै होइन, पहाड टु पहाड पनी पुल बनाउने नीति पास गरिसकेका छौँ ।”
सरकारको तीन करोड ६९ लाखभन्दा बढी लागतमा निर्माण गरिएको पुल उद्घाटनमा मन्त्री गुरुङ हवाईजहाजमा आएकी थिइन्। आकाशमा उडेको हवाईजहाज आफ्नो ठाउँमा देख्न पाउँदा स्थानीयवासी आशा बम्जन खुसीले गद्गद् भएका थिए । पुल ध्वजापतका र द्वार बेलुनले सजाएर आर्कषक बनाइएको थियो ।
चिल्ला गाडी र मोटरसाइकलको लस्कर थिए । मन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीलगायत स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा स्थानीय जातजाति र भाषाका सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । पुल निर्माण भएपछि खोलाले बगाएर अकालमै ज्यान फाल्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका थिए । रासस/file photo