काठमाडौं, २६ कात्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले जाजरकोट र रुकुमपश्चिममा राहत अपर्याप्त नभएको बताएका छन् ।
‘भेरी नदीको दुवैतर्फ भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ । खासगरी जाजरकोटको भेरी र नलगाड नगरपालिका अनि रुकुम पश्चिमको आठबिसकोट नगरपालिका निकै प्रभावित छन् । राहत वितरणमा ढिलाइ हुँदा थप दुई जना भूकम्पपीडितले मृत्युवरण गरे । आइसकेको राहतलाई दुई दिन पर्खेर एकैचोटि बाँड्छु भनेर बस्नुभन्दा समस्या हेरेर बालबच्चा, सुत्केरी, वृद्धवृद्धालाई प्राथमिकता दिनुपर्थ्र्यो । अरु आउँदै गर्छ, दिँदै गर भनेको देखिएन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
संसद्को राज्यव्यवस्था समितिको टोलीमा भूकम्प प्रभावित जिल्ला पुगेका सांसद बडूले राहत वितरणमा सरकार असफल भएको निष्कर्षमा पुग्नु नहुने बताए । उनले थपे, ‘सरकारले घाइतेको उद्धार र उपचारमा तदारुकता देखाएकै हो । तर यति छिटो राहतमा सफल वा असफल भएको निष्कर्षमा पुग्नुहुँदैन । जहाँ सडक नजिक छ, त्यहाँ राहत छिटो पुग्यो । सडक पहुँच नभएका ठाउँमा सानो हेलिकप्टरले पुर् याउँदा राहत थोरै र ढिलो पुग्यो ।’
भूकम्प प्रभावित क्षेत्रमा संसदको निगरानी चाहिने पनि उनले औंल्याए । बडूले पालिकाहरुमा सर्वदलीय संयन्त्र बनाएर काम भइरहेको पनि बताए । उनले भने, ‘अहिले जनताले त्रिपाल र ओढ्ने ओछ्याउने कपडा खोजेका छन् । जनप्रतिनिधिको साथमा सर्वदलीय संयन्त्र बनाएर राहत वितरण भइरहेको छ । त्यसकारण घरहरुलाई बस्न मिल्ने र नमिल्ने वर्गीकरण गर्ने, कुन बढी प्रभावित हो, कुन कम प्रभावित हो, त्यसको मापदण्ड बनाएर पारदर्शी रुपमा राहत वितरण हुनुपर्छ । त्यसो गर्दा पक्षपात र पूर्वाग्रह नहोला ।’ टेन्ट वा त्रिपाल लामो समय नटिक्ने भएकाले तत्काल अस्थायी टहरा बनाउन लाग्नुपर्ने पनि बडूले बताए ।