काठमाडौं, २६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दल देशका दीर्घकालिन उज्यालोको खोजीमा निस्किएको दाबी गरेका छन् । हिजो (शनिबार) काठमाडौंमा आयोजित तिहारलगायतका चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले ०८४ को निर्वाचनमा आफूहरुलाई पठाउन जनतासँग अपिल गर्दै त्यतिवेला अहिलेका ठूला दलहरुको ८४ गरिदिने चेतावनी दिएका छन् । उनले भने,‘हामी यो देशलाई साँच्चै नै उज्यालो दिन चाहन्छौं । त्यही उज्यालोको खोजीमा हामी आफ्नो काम, पेशा, सपना अनि व्यक्तिगत जिन्दगीका अनेकौं कुराहरु छोडेर सामूहिक सपना बनाएर यो देशका लागि केही गरौं भनेर निस्किएका मान्छेहरु हौं । बस, इच्छा उज्यालोकै हो । तिहारको केही दिनको उज्यालोमात्रै होईन, सधैंभरि यो देशमा उज्यालो आउन सकोस । आउने पुस्ताले एउटा उज्यालो भविष्य देख्न सकोस । सिंगो पुस्ताको उज्यालाको लागि हामी संघर्षरत छौं । म यत्ति भन्न चाहन्छु ।’
आजभोलि अनेकौं चरित्रहत्या र घेराबन्दी गर्ने काम भैरहेको भन्दै उनले त्यसमा आफ्नो आपत्ति प्रकट गरे । उनले भने,‘बोलेका, नबोलेका हरेक कुरामा विवाद गरेर हाम्रो बाटो छेक्न खोजेका छन् । त्यो हाम्रो बाटो छेक्न खोजेका होईनन्, उनीहरुले फेरि पनि तपाईँहरुलाई अँध्यारोमा राख्न खोजेका हुन् । त्यो उज्यालो नदिन खोजेका हुन् । तर, उज्यालो त आएरै छोड्छ । रात जति दिनै अन्धकार भएपनि, जति नै लामो भएपनि विहानी त भएरै छोड्छ ।’
सो क्रममा उनले सरकारले झुक्काएर स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको भन्दै आक्रोश पोखे । पछिल्लो समय लामिछाने आक्रामक रुपमा पार्टी निर्माणको काममा जुटेका छन् । उनी अहिलेका ठूला दलमाथि कडा रुपमा प्रस्तुत भैरहेका छन् । सामाजिक सञ्जालमा भने उनी आवश्यकभन्दा बढि नै आक्रामक रुपमा प्रस्तुत भैरहेको भन्दै आलोचनापनि सुरु भएको छ ।
file photo