Logo

पचास हजारले अवलोकन गरे नगरकोट महोत्सव



भक्तपुर, २६ कात्तिक । तिहारको रौनकताले नगरकोट आफैमा झिलिमिली । त्यसमाथि पनि तीन दिने नगरकोट सडक महोत्सवले सजिएको नगरकोटको सडक, पार्कका क्षेत्र । झिलिमिली नगरकोटमा शनिबारको साँझ ढल्किएर रात छिपिँदै जाँदा पनि हजारौँ युवायुवती साङ्गीतिक कार्यक्रममा झुमिरहेका थिए ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिले नगरकोटमा आयोजना गरेको तीन दिने नगरकोट सडक महोत्सवको अन्तिम दिन शनिबार राति ८ बजे देखिएको यो दृश्यले तिहारको आगमनमा रौनकता थपेको मात्रै होइन, नगरकोटमा बाह्य तथा आन्तरिक पर्यटकको चापसमेत निकै बढाएको थियो ।

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकार विश्व दोङ, खुमन अधिकारी, सरोज लामिछाने, राधिका हमाल, स्मृति गौतम, राजेश ढकाल, राजकुमार नेपाली, कोपिला वाइवा, शारदा साइली, कमला दोङ, रचिन राईलगायतको साङ्गीतिक प्रस्तुतिले महोत्सवमा सहभागी झुमेका थिए ।

भूकम्प र कोरोना भाइरस सङ्क्रमणले थला परेका नगरकोटको पर्यटन व्यवसायलाई चलायमान बनाउन भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्यस्थल नगरकोटमा २३ गते बाट सुरु भएको सडक महोत्सवमा आन्तरिक र बाह्य पर्यटकको चाप बढाएका नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले बताए । नगरकोटलाई आन्तरिक तथा बाह्य पर्यटनको मुख्य केन्द्र बनाउन एवं पर्यटकको आगमनलाई वृद्धि गराउने मुख्य उद्देश्य तथा रैथाने वस्तुका उत्पादनकर्तालाई लाभान्वित गर्न महोत्सवको आयोजना गरेको महोत्सवमा ५० हजारभन्दा बढीको आमगनसँगै भव्य रुपमा सम्पन्न भएको उनले बताए ।

यहाँका होटल तथा रेस्टुरेन्ट व्यवसायी र स्थानीय रैथाने उत्पादकको प्रदर्शनी एवं स्थानीय किसान र साना व्यवसायीसँगै होटल तथा रेस्टुरेन्टको २५ वटा स्टल राखिएकोमा सबै स्टलमा स्थानीय रैनाथे सामग्रीको बिक्रीसमेत राम्रो भएको उनले बताए । महोत्सवमा आउने पर्यटकले स्थानीय रैनाथे खानाको स्वादसँगै राष्ट्रिय एवं स्थानीय कलाकारको विभिन्न प्रस्तुतिसमेतको मनोरञ्जन लिएका थिए ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले महोत्सवको समापन कार्यक्रममा बोल्दै नगरपालिकाले मनाउने नगरकोट भ्रमण वर्ष २०८२ लाई भव्य रुपमा सम्पन्न गराउन यो महोत्सव उपलब्धिमूलक बनेको बताए । उनले विश्वकै आकर्षक पर्यटकीय गन्तव्यमध्येको नगरकोट आफैमा विश्व प्रसिद्ध पर्यटकीय गन्तव्य भए पनि पर्यटकको आगमन वृद्धि गर्न महोत्सव कोसेढुङ्गा भएको बताए ।

उनले स्थानीय सरकारले यो क्षेत्रको पर्यटकीय विकासका लागि संयुक्त अवधारणा एवं कार्यक्रम अघि सारेको बताउँदै नगरकोटको पर्यटकीय क्षेत्रको पूर्वाधारको विकासका लागि बजेट विनियोजन गर्दै आएको र यसवर्ष पनि रु एक करोड बजेटको व्यवस्था गरेको बताए ।

कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइबा, शङ्करापुर नगरपालिकाका प्रमुख रमेश नापित, सङ्घीय सांसद सन्तोष परियार, बागमती प्रवेशका पूर्व वनमन्त्री राजु विष्टलगायतका विभिन्न व्यक्तिले महोत्सवले पर्यटन विकासमा टेवा पुग्ने बताएका थिए ।

चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं समितिका उपाध्यक्ष धनबहादुर तामाङले नगरकोटमा दिगो पर्यटन विकासका लागि नगरकोटसँग सिमाना जोडिएको भक्तपुरको चाँगुनारायण, काभ्रेको मण्डनदेउपुर र बनेपा नगरपालिका तथा काठमाडौँको शंङ्करापुर नगरपालिकाले एकीकृत पर्यटकीय विकासको अवधारणा ल्याएर काम गरिरहेको बताए । उनले नगरकोटलाई चाँगुनारायण नगरपालिकाले नगरकोटलाई पर्यटकीय हब बनाउन २०८२ मा नगरकोट पर्यटन वर्ष मनाउने निर्णय गरेको बताए । रासस



प्रतिक्रिया दिनुहोस्