काठमाडौं, २७ कार्तिक । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले वर्तमान व्यवस्थाले मुलुकलाई निकास दिन नसक्ने दाबी गरेका छन् । उनले अहिलेको व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् ।
आज (सोमबार) पार्टीद्धारा सिरहाको मिर्चैयामा आयोजित तिहार एवम् छठको शुभकामना कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा लोकतन्त्रको नारा दिएपनि व्यवहारमा लोकतन्त्र नभएर लुटतन्त्र रहेको दाबी गरे ।
उनले जनताले ठूलो त्याग र बलिदानीबाट प्राप्त उपलब्धिहरु दलीय सिण्डिकेटको कारण अस्तित्व रक्षाको संघर्षमा रहेको टिप्पणी गरे । जनता महँगी र भ्रष्टाचारको मारमा रहेको तर मुठ्ठीभरका दलालहरुले देशलाई लुटेर बर्बाद बनाएको उनको दाबी छ ।
उनले अहिलेको व्यवस्थाले मुलुकलाई निकास दिन नसक्ने पनि ठोकुवा गरे । पछिल्लो समय अध्यक्ष साहले आक्रामक रुपमा पार्टी संगठन निर्माण कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
सो अवसरमा गरिब दलितलाई आवासको व्यवस्था गर्न सशक्त आन्दोलन गर्ने प्रतिबद्धता गरिएको थियो । कार्यक्रमको अध्यक्षता उदय साहले गरेका थिए भने विशेष अतिथिहरुमा पार्टी उपाध्यक्ष रामप्रित राम, श्रीचन मुखिया, उमेश कुशवाहा, बिल्टू यादवलगायत थिए ।