Logo

मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण



चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेका छन । इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उनले दुई-दुई ब्ल्याङकेट वितरण गरेका हुन् ।

सोमबार आयोजित कार्यक्रममा उनले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जानकारी दिँदै चेपाङ जातीको भाषा र संस्कृति जोगाउन आवश्यक छ रहेको बताए । ‘चेपाङ समुदाय मागेर खाने समुदाय मात्र होइन’, उनले भने, ‘चेपाङ संस्कृति पर्यटन र आयआर्जनसंग जोडेर देशलाई संमृद्धि बनाउने समुदाय पनि हो ।’

सरकारले अल्पसंख्यक, सिमान्तकृत जनजातिको भाषा,संस्कृति संरक्षणका लागि विषेश प्राथमिकता दिने उनको भनाइ थियो । मन्त्री किरातीले चेपाङ संस्कृति जोगाउन अतुलनीय योगदान पुर्‍याएवापत भोटे बहादुर चेपाङ र बाबरी चेपाङलाई नगद पाँच-पाँच हजार सहित सम्मान गरे ।

सो अवसरमा भोटेबहादुर चेपाङले ढ्याङग्रो बजाएर मन्त्री किरातीलाई आफ्नो संस्कृति देखाएका थिए । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले चेपाङको अवस्था र इच्छाकामनामा पर्यटन सम्भावनाका बारेमा जानकारी दिएका थिए । मन्त्री किरातीले इच्छाकामनाका चेपाङ समुदायलाई लक्षित गरेर पर्यटनका ‘प्याकेज’ का कार्यक्रम ल्याउने जानकारी दिए । मन्त्री किरतीले चेपाङ समुदायसंग देउसीभैलो समेत खेले ।



प्रतिक्रिया दिनुहोस्