Logo

ज्योतिषीले आफ्नो दोकान चलाउन राजतन्त्र फर्कने हल्ला गरिरहन्छन् : माओवादी नेता



काठमाडौं, २९ कात्तिक । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले नेपालमै टिकटकजस्तै सामाजिक सञ्जालको विकास गर्नुपर्ने औंल्याएका छन् ।
‘नयाँ पुस्ताले नयाँ प्रविधिको प्रयोग गर्छ । त्यसको नियमन पनि आवश्यक हुन्छ । हामी प्र्रविधिको दास नहौ, बरु प्रविधिलाई दास बनाऊँ । केही समयअघि नेपालीले फेसबुकजस्तो सञ्जाल निकालेका थिए । त्यसलाई सरकारले प्रोत्साहन गर्न सकेन । त्यो कोल्याप्स भयो । अब हामी आफैंले टिकटकजस्तै उपयुक्त सामाजिक सञ्जालको विकास गर्नु अपरिहार्य छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
टिकटकमाथि प्रतिबन्ध लगाउने अधिकार सरकारसँग रहेको पनि साहले बताए । उनले थपे, ‘टिकटकमाथिको प्रतिबन्ध अलिकता ठीक हो, अलिकता बेठीक हो । राज्यलाई यस्तो निर्णय गर्ने अधिकार छ । यसमा धेरै हल्ला गर्नु जरुरी छैन । टिकटक नहुँदा पनि नेपाल चलेकै थियो । बन्द भएपछि केही दिन छटपटी हुनु स्वाभाविक हो । यसलाई राज्यले एउटा संयन्त्र बनाएर व्यवस्थित बढाउनु पर्छ ।’
साथै उनले राजसंस्था नफर्कने र पुष्पकमल दाहाल प्रचण्डको सरकार दुई वर्ष चल्ने बताए । साहले भने, ‘अहिले राजसंस्था फर्कने कुरै नगरौं । युवा पुस्ताले राजसंस्थालाई बोक्छ भन्ने कुरामा मलाई विश्वास छैन । ज्योतिषीले आफ्नो दोकान चलाउन यस्ता हल्ला गरिरहन्छन् । सरकारलाई कमजोर बनाउने अनेक प्रयत्न भए पनि प्रचण्डको सरकार दुई वर्ष चल्छ ।’



प्रतिक्रिया दिनुहोस्