म्याग्दी, २९ कात्तिक । यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन् ।
नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरूले एक आपसमा टीका र माला लगाएर तिहार मनाएका हुन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा जन्मिएर हाल हङकङमा बसोबास गर्नुहुने कर्ण पुनको सहयोगमा बालगृहमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको हो ।
बालबालिकाहरूलाई तिहार निरश नबनोस् भनेर सामूहिक भाइटीका कार्यक्रमका लागि सहयोग गरिएको पुनले बताउनुभयो । म्याग्दी बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन् । अभिभावकबिहिन बालबालिकालाई बालगृहलाई आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको ब्यवस्था मिलाएको छ ।
बाल सङ्गठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा सामूहिक भाइटीका आयोजना गर्न पूजा सामग्री, मिठाईलगायत खानाका परिकारको ब्यवस्था गर्ने पुनलाई धन्यवाद दिए ।
बालगृहमै भाइटीका
तनहुँको व्यास नगरपालिका–१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् । तिहारको पाँचौ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् ।
बालगृहमा आश्रय लिइरहेका बालबालिकाले भाइटीका लगाएर तिहार मनाएका हुन् । बालगृहमा रहेका दुई बालिकाहरूले चार बालकलाई टीका लगाइदिएका थिए ।
तनहुँको भिमाद नगरपालिका–१ घर भएकी कुशा नेपाली र व्यास नगरपालिका–११ तनहुँसुर घर भएकी बर्मिला प्रजाले चार जना बालकलाई भाइटीका लगादिए । ऋषिङ गाउँपालिका–१ काहुँशिवपुर घर भई बालगृहमा रहेका सुमन विकले तिहारको बेला भाइटीका लगाउन पाएकामा खुसी व्यक्त गरे ।