Logo

छठमा कृषिजन्य उत्पादनको महत्त्व



महेन्द्रनगर (धनुषा) ३० कात्तिक । मिथिलाञ्चलसहित तराई–मधेशमा विशेष महत्त्वका साथ मनाइने छठ पर्वमा कृषिजन्य वस्तुको विशेष महत्त्व छ । शुद्धतामा विशेष ध्यान दिइने यो पर्वमा कृषि उपजलाई प्रसादका रूपमा लिइन्छ भने केहीलाई वर्जित गरिएको छ ।

नरिवल, टापनिम्बु, स्याउ, उखु, मुला, बेसारको झार, अदुवा, शकरकन्दसहित विभिन्न स्थानीय कृषि उत्पादनलाई प्रसाद सामग्रीको रूपमा चढाइन्छ भने लसुन, प्याज, कोदो, मसुरीसहितका वस्तु वर्जित छ ।

पछिल्लो समय काठमाडौँ उपत्यका र अन्य पहाडी तथा हिमाली क्षेत्रमा पनि मनाउन थालिएको छ । छत्तीस घण्टासम्म पानी पनि नखाएर व्रत बस्ने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अघ्र्य दिइन्छ भने छठी माताको पूजा आराधना गरिन्छ ।

कामख्या परिवार नेपालका अध्यक्ष बाबा विभाष लाभका अनुसार प्रकृति र शक्तिका स्वरूप मानिने सूर्य देवताको पूजा गरी मनाइने महत्त्वपूर्ण पर्व छठको पनि विशेष महत्त्व र महिमा रहेको छ । सूर्यको पूजा गरी मनाइने पर्वमध्ये छठ महत्त्वपूर्ण मानिन्छ ।

यो पर्व चार दिनसम्म मनाइन्छ । पहिलो दिन अर्थात् चतुर्थीको दिनलाई ‘अरवा–अरबाइन’ वा नहाए खाए भनिन्छ । यस दिन व्रती सर्वप्रथम स्नान गरी भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुरीसहितका वस्तु परित्याग गरी शुद्ध र पवित्र भोजन गरी व्रतको सुरुवात गर्ने गर्छिन् ।

दोस्रो दिनको विधिलाई खरना भनिन्छ । यस दिन व्रती बिहानैदेखि निर्जला व्रत बसी साँझ गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोको घोलले भूमि सुशोभित गरिन्छ । अनि चन्द्र दर्शनपछि माटोको नयाँ चुलो र भाँडावर्तनमा सख्खर, दूध र चामलको खीर बनाएर केराको पातमा राखी कुलदेउता स्थापित कोठामा छठी मातालाई चढाइन्छ ।

यसपछि व्रती र परिवारका सदस्य खीर प्रसादको रूपमा ग्रहण गर्ने गर्छन् । त्यसपछि सुरु हुन्छ, व्रतीहरुको ३६ घण्टाको कठोर उपवास । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिवसीय रूपमा मनाइने पर्वमा व्रतीले निर्जल उपवास बस्नुपर्दछ ।

यस पर्वको महत्त्वपूर्ण तेस्रो दिन अर्थात् षष्ठी तिथि हो । यस दिन प्रसादका रूपमा बनाइएको ठकुवा, भुस्वा, पुरी कचवनिया र फलफूलसहितका प्रसाद सामग्री लिएर सरोबर, नदीनाला तथा पोखरी, घाट पु¥याइन्छ । नरिवल, टापनिम्बु, स्याउ, उखु, मुला, बेसारको झार, अदुवा, शकरकन्दसहित विभिन्न स्थानीय कृषि उत्पादनसमेत प्रसाद सामग्रीको रूपमा चढाइने भएकाले यसलाई कृषिको पूजाका रूपमा समेत लिइन्छ । स्थानीय कृषिजन्य उत्पादनहरू सूर्यदेवतालाई चढाउँदै धन्यवाद दिने र पुनः सफल कृषि उत्पादनको कामना पनि यस पर्वमा हुनेगर्छ ।

सम्पूर्ण सामग्रीसहित पोखरी र सरोबर घाट पुगेका व्रतालु साँझ द्वीप, धूप, अगरबत्ती प्रज्वलित गरी सूर्य देवता र छठि माताको पूजाआराधना गरी राति पोखरी घाटमै जाग्राम बस्ने गर्दछन् । स्थानीयरूपमै माटोले बनाइएको नयाँ घैलो, हाँथी, कोसिया कुरबार, बाँसले बनाइएको कोलसुप, सुपा, ढकिया, चङ्गेरासहितमा प्रसाद राखी जम्मा भएका व्रतालुले जलाशयको दृश्य मनमोहक बनाइएको हुन्छ । अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदा व्रती दुवै हातमा चालमको घोल र सिन्दुर लगाएर अक्षता र फूलसहित पालैपालो अघ्र्य सामग्री सूर्यदेवता समक्ष अर्पण गरिन्छ ।

खरनाका राति भक्तजन जलाशय घाटमै प्रसादको सुरक्षाका लागि छठिमाता पूजाको गीत र सांस्कृतिक कार्यक्रम गरी जाग्राम बस्ने गर्दछ । पर्वको चौँथो तथा अन्तिम दिनलाई पारन भनिन्छ । यस दिन व्रती बिहान सूर्य उदाउँने वित्तिकै जलाशयमा स्नान गरी उदाएको सूर्यदेवतालाई अघ्र्य दिएपछि छठ विधिवत् रूपमा सम्पन्न हुन्छ ।

सूर्यको उपयोगी किरणको अभावबाट हुने कुष्ठरोगसहितबाट रोग ब्याधिबाट मुक्तिका लागि पनि यो पर्व विशेष महत्त्व रहेकोे ज्योतिष राकेश साहले बताए । जानकार एवं विज्ञ डा विनोद साहका अनुसार व्यावहारिक रूपमा कठिन पूजा मानिने छठी पूजाको सुरुवात पाटलीपुत्र वर्तमान भारतको पटना भन्ने स्थानबाट मगध राजाको शासनकाल १३०० देखि १५०० विसीमा भएको मानिन्छ ।

यस पर्वको सुरुवातको विषयमा विभिन्न किम्बदन्ती पनि रहेको छ । सूर्य पुराणमा कात्तिक शुक्ल षष्ठीका दिन सर्वप्रथम अत्रिमुनिक पत्नी सती अनुसुया समृद्धि र दाम्पत्य प्रेमप्रति श्रद्धा प्रकट गर्न षष्ठी व्रत बसेकी थिइन् । अर्को धार्मिक मान्यताअनुसार द्वापरयुगमा पाण्डव अज्ञातबासमा रहँदा द्रौपदी अज्ञातबासको सफलताका लागि सूर्यदेवको आराधना गर्दै षष्ठी व्रत गरेको जानकार डा सुरेन्द्र लाभले बताएका छन् । त्यही ‘षष्ठी’ शब्द रुपान्तरण हुँदै छठी, छठ, छइठ भएको जानकार बताउँछन् ।

यो पर्व विशेष गरी महिलाले मनाए पनि पुरुषको भूमिका पनि महत्त्वपूर्ण र सहयोगीका रूपमा देखिन्छ । सरसमान र प्रसाद सामग्री पुरुषले बोक्ने र पोखरीसम्म पुर्‍याउने गरेकाले यसले परिवारमा स्नेह बढ्ने विश्वास पनि गरिन्छ । यस पर्वमा प्रयोग हुने सम्पूर्ण सामग्री नयाँ हुनुपर्दछ । जानकार एवं पण्डित कुशेश्वर उपाध्यायले भने, “वर्षमा दुई पटक गर्मीमा अर्थात् चैतमा मनाइने छठलाई चैती छठ र जाडोमा मनाइने छठलाई कार्तिक छठ भनिन्छ ।”

कार्तिकमा मनाइने छठ चैतमा मनाइने छठभन्दा लोकप्रिय मानिन्छ । बिना भेद्भाव सबै जाति र समुदाय पोखरी, नदी र जलाशयको घाटमा जम्मा भई सँगसँगै सूर्य देवताको पूजा गर्ने परम्परा रहेको यो पर्व साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता र मेलमिलापको सङ्गम सावित भएको जानकार डा राजेन्द्र विमलले बताए ।

विशेषगरी भारतको विहार तथा नेपालको तराई–मधेशमा मनाइने यो पर्व अब पहाड र हिमालमा पनि विस्तार मात्र भएको छैन । मुस्मिल समुदायले पनि मनाउन थालेपछि राष्ट्रिय पर्वको रूपमा स्थापित भएको जानकार रोशन जनकपुरीले बताए । रासस



प्रतिक्रिया दिनुहोस्