Logo

‘किताब, कापी, कलम, झोला छैनन्, भूकम्पपीडित बालबालिका कसरी स्कुल जान्छन् ?’



काठमाडौं, १ मंसिर । नेकपा एमाले जाजरकोटका नेता डम्बरबहादुर सिंहले भूकम्प गएको दुई हप्तासम्म पनि सरकारले पीडित जनतालाई अस्थायी टहरा निर्माणका लागि राहत दिन नसकेको बताएका छन् ।
‘भूकम्प गएको १४ दिन बितेको छ । जाडो बढेको छ । धुलो, धुवाँ, र दुर्गन्ध फैलिएको ठाउँमा त्रिपालमुनि कति दिन बस्ने ? झाडापखाला, दम, निमोनियाका बिरामी बढेका छन् । सुत्केरी र बालबच्चाको बिजोग छ । मृतकको परिवारले २ लाख पनि पाएका छैनन् । अस्थायी टहरा बनाउनका ५० हजार दिने भनिएको छ । तर अहिलेसम्म कसैले पाएको छैन । भत्किएका संरचना जस्ताको तस्तै छन् । केन्द्र र प्रदेश सरकार के हेरेर बसिरहेका छन् ?’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
नेता सिंहले अबको १५ दिनभित्र भूकम्पपीडित जनतालाई अस्थायी टहरामा राख्न सकिएन भने स्थिति भयावह हुने पनि बताए । साथै उनले नेकपा एमालेका एक हजार स्वयंसेवक आजबाट १५ दिनसम्म भूकम्पप्रभावित गाउँबस्तीमा खटिने पनि जानकारी दिए । उनले भने, ‘फिल्डमा गएर हामी भत्किएका संरचना पन्छाउँछौं । पुरिएका सामान झिकेर जिम्मा लगाउँछौ । अवरुद्ध बाटो खुलाउँछौं र बाँकी बचेको समय टहरा बनाउँछौं ।’ आफूहरुले भूकम्पपीडितको समस्यालाई राजनीतीकरण नगरेको पनि उनको दाबी छ ।
सिंहले सरकारले समयमै नसोच्दा बालबालिकाहरु स्कुल जान वञ्चित भएको बताए । सिंहले थपे, ‘बालबालिका घर भत्किएर टेन्टमा बसेका छन् । उनीहरुको स्कूल भत्किएको छ । झोला, कापी, किताब, झोला केही छैन । अनि बालबालिका कसरी स्कुल जान्छन् ?’
कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमका ६ वटा पालिकामा १५७ जनाले ज्यान गुमाए भने २६६ जनाभन्दा बढी घाइते भए । दुवै जिल्लामा ३४ हजार घर भत्किएका छन् ।



प्रतिक्रिया दिनुहोस्