Logo

प्रधानमन्त्री प्रचण्डलाई भीम रावलको कटाक्ष– के १७ हजार मानिस टिकटककै कारण मारिएका हुन् ?



काठमाडौं, १ मंसिर । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना अयोग्यता र अकर्मण्यता छोप्न टिकटक बन्द गरेको आरोप लगाएका छन् ।
‘देशभित्रै कसैले सेना गठन गरेको छ । प्रधानमन्त्री प्रचण्ड त्यसलाई कारबाही गर्न सक्नुहुन्न अनि आफ्ना अयोग्यता र अकर्मण्यता छोप्न टिकटक बन्द गर्नुहुन्छ । उहाँ आफैं कहिले आन्दोलन गर्छु भन्नुहुन्छ, कहिले जातीय राज्य दिन्छु भन्नुहुन्छ । प्रधानमन्त्री भएर आफैं अराजकता सिर्जना गर्ने ? के १७ हजार मानिस टिकटकका कारण मारिएका हुन् ? राष्ट्रविरुद्ध कुकर्म गर भनेर टिकटकले भनेको हो ?’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
नेता रावलले पुष्पकमल दाहाल र उनका मानिसलाई फेसबुक बन्द गरेर देखाउन पनि चुनौती दिए । उनले थपे, ‘मलाई टिकटकमोह छैन । म ट्वीटर र फेसबुक चलाउँछु, टिकटक चलाउन्नँ । सामाजिक सञ्जालमा कैयौं विकृति छन् । कुनै अमर्यादित कुरा छन् भने नियम कानुनबाट नियन्त्रण गर्न सकिँदैन र ?’
नेता रावलले जाजरकोट भूकम्पपीडितलाई घरजस्तो टेन्ट दिन नसकेको र दुई हप्तासम्म भग्वावेशष पन्छाउने काम नगरेको आरोप पनि लगाए । साथै उनले प्रधानमन्त्री प्रचण्डले भनेजस्तो व्यवस्थामाथि कसैले आक्रमण नगरेको बताए । उनले थपे, ‘कसले आक्रमण गरेको छ व्यवस्थामाथि ? महँगी नियन्त्रण गर, नदीनाला विदेशलाई जम्मा नदेऊ, भूकम्पपीडितलाई राहत देऊ भन्नु नै खतरा हो त ?’
साथै उनले विकृति नै संघीयताको मापन हो भने यस्तो संघीयता किन चाहियो भनेर प्रश्न गरे । रावलले भने, ‘म संघीयताको ल्याउन लागेको मान्छे हुँ । विकृति हटाउनुपर्ने संघीयताले आफैं विकृति बढाइरहेको छ । मैले मिलिजुली बाँडीचुँडी खाने हो भने यस्तो संघीयता खारेज गर्नुपर्छ भनेको हुँ ।’ समानुपातिक निर्वाचन प्रणाली भने तत्काल खारेज गर्नुपर्ने उनले औंल्याए ।
अर्को प्रसंगमा उनले आफूले राजसंस्थाका बारेमा नबोलेको बताए । र, कसैको आन्दोलनलाई समर्थन पनि नगरेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्