काठमाडौं,१ मंसिर । भारतमा जारी विश्वकप क्रिकेटमा सेमिफाइनका खेलहरु पूरा भएका छन् । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विजयी भएसँगै सेमिफाइनलको खेल सकिएको हो ।
बिहीबार भएको खेलमा दक्षिण अफ्रिकालाई अस्ट्रेलियाले तीन विकेटले पराजित गर्यो । दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अस्ट्रेलियाले ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ट्राविस हेडले सर्वाधिक ६२ रन बनाए भने स्टीभ स्मिथले ३० र डेभिड वार्नरले २९ रनको योगदान दिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले खराब सुरुवात गरेको थियो । पहिलो ओभरमै मिचेल स्टार्कले कप्तान तेम्बा बवुमालाई शून्यमा आउट गरे ।
पावर प्लेमा उसको स्कोर १८-२ थियो । भने २४ रन जोड्दा ४ विकेट गुमिसकेको थियो ।
१४ओभरमा ४ विकेट गुमाएर ४४ रन बनाएको थियो, पानीले खेल रोकियो । पानी रोकिएपछि झण्डै १ घन्टापछि खेल सुरु भयो र कमिन्सले यो विश्वकपमा सफल बलर एडम जाम्पालाई बलिङमा ल्याए ।
१७औं ओभरको पाँचौं बलमा डेभिड मिलरले जाम्पाकै बलमा छक्का हाने र दक्षिण अफ्रिकाको स्कोर ५० रन पुग्यो । मिलर र हेनरी क्लासनले पारी सम्हादै पाँचौं विकेटका लागि ९५ सनको साझेदारी गरे ।
३१औं ओभरमा अष्ट्रेलियाका ट्राविस हेडले साझेदारी तोडे । उनले पहिले क्लासेनको विकेट लिए, अर्को बलमा मार्को जनसेनलाई शून्यमै आउट गरे ।
दक्षिण अफ्रिका ४८.५ ओभरमा २१२ रन जोड्दा अलआउट भयो ।
नवौं विकेटका रुपमा आउट हुनुअघि मिलरले शतक पूरा गरे । ११६ बलको समना गरेका उनले १०१ रन बनाए । क्लासेनले ४७ रन जोडेका थिए ।
अष्ट्रेलियाका मिचेल स्टार्क र कप्तान कमिन्सले ३-३ विकेट लिए भने ह्याजलउड र हेडले २-२ विकेट हात पारे ।