Logo

सदा बच्चाहरूसित विराजमान छठमाता



किरण आचार्य– वैदिक सनातन संस्कृतिमा छठमाताको व्रत र भक्तिको ठूलो महिमा छ । सन्तानप्राप्ति र इच्छित वरदान प्राप्तिका लागि तराईका धेरैजसो जिल्लामा छठमाता अर्थात् षष्ठीदेवीको उच्च श्रद्धाका साथ व्रत–उपवास राख्ने गरिन्छ । हिजोआज काठमाडौं लगायतका अन्य पहाडी जिल्लामा पनि यो व्रत–उपवास राख्ने चलन बढ्दो छ । पहाडी जिल्लामा पनि यो व्रत–उपवास राख्न थालिएको छ ।

त्यसो त पहाडी क्षेत्र र तराईमा छठ पर्व मनाउने विधि फरक छ । विशेष गरी सन्तान प्राप्तिका लागि राखिने यो व्रत–उपवास पहाडी जिल्लामा प्रत्येक महिना दुईपटक पर्ने षष्ठी तिथिमा हुन्छ । त्यहाँ मातालाई प्रसन्न पार्न भक्तहरूले आआफ्नो शारीरिक क्षमता र शक्ति अनुसार व्रत–उपवास राख्छन् । तराईका जिल्लाहरूमा कार्तिक महिनाको भाइटीकापछिको अर्थात् कार्तिक शुक्ल पक्षको चौथी, पञ्चमी र षष्ठी तिथिमा तीन दिनसम्म माताको व्रत लिने गर्छन् ।

कसैले चौथीको दिन नुहाईधुवाई गरी दिनभरि व्रत–उपवास राखेर साँझपख लौका र भात खाने गर्छन् भने कसैले पञ्चमीको दिनभरि निराहार व्रत गरी साँझपख साँठा चामलको खिर र पुरी प्रसादको रूपमा मातालाई चढाएपछि खाने चलन छ । यसलाई खर्ना भन्ने चलन छ । त्यो दिन आफ्ना इष्टमित्र, चेलीबेटी र आफन्तहरूलाई समेत निम्ता गरेर उक्त प्रसाद खुवाउँछन् अनि षष्ठीको दिन बिहानै नुहाइधुवाइ गरी दिनभरि पानी समेत नखाई व्रत–उपवास राखिन्छ भने कसैले पञ्चमीको दिन खर्ना नगरी छठको दिन मात्रै निराहार व्रत पनि गर्छन् ।

यसरी व्रत गर्दा साँझपख कुनै नदी वा पोखरीको किनारमा गई माटो वा बालुवाको आकृति बनाई माता मानेर पूजा गरिन्छ । मुख्य गरी अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइन्छ । भक्तजनहरूले रातभरि नली, ताल वा सरोवर किनारमा भजनकीर्तन गर्छन् । बिहानपख नित्यकर्मपछि स्नान गरी माताको पूजा गरेर उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत–उपवास समाप्त हुन्छ । मातालाई चढाइने प्रमुख प्रसादको रूपमा गहुँको पीठो, भेली र मसला मिसाएर विशेष तरिकाले पकाइएको रोटी हो, जसलाई ठेकुवा भनिन्छ । ठेकुवाका साथै काँचो केरा, पाकेको केरा, निबुवा, नरिवल, बतासा, केराउ र साँठा चामलको अक्षता चढाइन्छ । यो पूजामा केशरी चढाइँदैन । बरु काँचो हलेदो र साँठा चामल पिसेर बनाइएको विशेष प्रकारको लेप र सिन्दूर चढाउने गरिन्छ ।

यसरी सबैको विशेष सम्मान र श्रद्धा प्राप्त गर्ने देवी को हुन् त ? यिनको प्राकट्य कसरी भयो भन्नेबारे श्रीमद्देवी भागवत महापुराण द्वितीय खण्डमा दुईथरी कुरा उल्लेख गरिएको छ । षष्ठीदेवी भुवनेश्वरी देवीको अर्थात् ब्रह्मको मूल प्रकृतिको छैठौँ अंशबाट प्रकट भएकी हुनाले उनलाई षष्ठीदेवी अर्थात् छठ माता भनिएको हो । यी देवी बालकहरूकी अधिष्ठात्री देवी हुन् । यी देवी विष्णुमाया, बालकहरूको विशेष रक्षा गर्ने भएकीले बालदा, देवताहरूकी सेनापति भएर रक्षा गरेकीले देवसेना र देवताहरूको रक्षार्थ इन्द्रको सेनापति भइदिएकीले इन्द्रसेना नामले पनि विख्यात छन् । यी देवीका स्वामी कुमार कार्तिकेय अर्थात् षडानन हुन् । कुमारकी पत्नी भएकी हुनाले यिनलाई कुमारी पनि भनिन्छ ।

देवी भागवत द्वितीय खण्ड महापुराण ४६ अध्यायमा यी देवीले बालकहरूको पालनपोषण गरेर रक्षा गर्छिन् अनि दीर्घजीवी बनाउँछिन् । यी देवी आफ्नो योगबलले सदा बच्चाहरूसित विराजमान भएकी हुन्छिन् । उनका बारेमा सबैभन्दा पहिले धर्मदेवले भनेका थिए । यिनलाई ब्रह्माले मनोयोगबाट रचेकाले ब्रह्माकी मानसपुत्री पनि भनिएको छ । यी देवी शुद्ध स्फटिक मणिजस्तो चम्किने बहुमूल्य रत्नहरूबाट निर्मित विमानमा सवार हुन्छिन् । श्वेतचम्पाजस्ती गोरो वर्णकी, नित्य नवयौवना, अपार मुस्कान र सिद्धयोगिनी जस्ती देखिन्छिन् । उनी गृष्मकालीन मध्याह्नकी सूर्यजस्तै देदीप्यमान छिन् ।

उनले देवासुर संग्राममा देवताहरूको सेना बनेर दानवहरूको वध गर्न सहयोग गरेकी थिइन् । यसरी आफ्नो अपार शक्तिद्वारा देवताहरूलाई विजयी बनाएकी दिइन् । उक्त युद्धमा यी देवीदेवताहरूका राजा इन्द्रको सेनाको सेनापति भएकीले उनलाई देवसेना पनि भनियो । यिनी समस्त मात्रिकाहरूमा श्रेष्ठ हुन् । उनको बारेमा कौथुम शाखामा पनि वर्णन पाइन्छ । यिनको मूलमन्त्र ‘ॐ ह्रीं षष्ठी देव्यै स्वाहा’ हो । यो स्तोत्र सामवेदमा पनि छ अर्थात् यो वैदिक मन्त्र हो भनेर नवम स्कन्ध अध्याय १ श्लोक ७७, ७८ र ७९ मा प्राप्त गर्न सकिन्छ ।

कतिपय स्थानमा षष्ठीदेवीबारे केही अन्यौल पनि भएको पाइन्छ । यिनलाई मनसादेवी पनि भनिएको छ । सोह्रौँ अध्यायको श्लोक ७१, ७२ र ७३ मा मनसादेवीलाई कश्यपपुत्री र शिवशिष्या भनिएको छ । यिनी शेषनागकी बहिनी हुन् । नागमा चढ्ने भएकाले यिनलाई नागमाता भनिएको रहेछ । यिनको शय्या नाग हो । यिनीलाई योगसिद्धिहरूको साक्षात् मूर्ति भएकीले सिद्धयोगिनी भनिएको छ । तसर्थ मनसादेवी नामले मानिसमा भ्रम पर्न सक्छ । दुवैलाई कुमारी नामले पुकारिए पनि कश्यपपुत्री मनसादेवी र षष्ठीदेवी कुमारी एकै व्यक्ति भने होइनन् । षष्ठीदेवी कुमारपत्नी भएकीले कुमारी भनिएको हो भने माता जरत्कारुलाई श्रीकृष्णले कन्याकुमारी मानेर पुजेका र लोकलाई समेत पूजा गर्न लगाएकाले उनलाई कुमारी अर्थात् कन्या भनिएको हो ।

षष्ठीदेवी परब्रह्म भुवनेश्वरी देवीको मूल स्वरूपको छैठौं अंश हुन् । उनी अयोनिजा हुन् भने मनसादेवी कश्यप ऋषि र दक्ष प्रजापतिकी पुत्री कुद्रूकी पुत्री जरत्कारु हुन् । परम पिता ब्रह्माकी पतातिनी र ऋषि मरिचिकाका पुत्र कश्यपकी पुत्री हुन् । जरत्कारु ऋषिकी अर्धांगिनी हुन् । तसर्थ यी दुई व्यक्तित्व फरक हुन् भन्ने स्पष्ट हुन्छ । षष्ठीदेवी देवासुर संग्राममा इन्द्रकी सेनापति भएर युद्धमा सहभागी भएकी थिइन् साथै कैयौं युद्धमा उनले आतंक फैलाउने असुरहरूको वध गरेर मानवताको संरक्षण गरेकी थिइन् ।

दुर्गा सप्तशती चण्डी एवं मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार परापूर्वकालमा महिषासुर नामक दैत्यले संसारमा निकै आतंक मच्चायो । त्यसको आतंकले सारा संसार भयभित भयो । त्रिदेव अर्थात व्रह्मा विष्णु र महादेवले समेत महिषासुरलाई केही गर्न सकेनन् तसर्थ माता कात्यायिनीसित महिषासुरलाई वध गर्न अनुरोध गरे । माता कात्यायिनी (कालिका) को नेतृत्वमा माता कुमारी लगायत मात्रिकागण सबै मिलेर युद्ध गरे । उक्त संग्राममा महिषासुर एवं अन्य दानवहरूको संहार गर्न छठमाताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

केही कालपश्चात् शुम्भ र निशुम्भ नामका दानवहरुले पृथ्वीमा निकै आतंक मचाए । उनीहरुले आफ्ना दैत्य सबै दैत्यलाई मानवमनमा भय र आतंक सिर्जना गर्न लगाए । अर्काको धन, राज्यका साथै सुन्दर स्त्रीहरूमा समेत आफ्नो अधिकार हुनुपर्ने भन्ने उनीहरूको मान्यता थियो । ऋषिहरूलाई यज्ञादि समेत गर्न व्यवधान पुर्‍याउँथे । इन्द्रबाट इन्द्रासन समेत छिने । यस्तो परिस्थितिमा सबै देवता व्रह्मा विष्णु र शिवलाई अनुरोध गरे तर सबैले शुम्भ र निशुम्भलाई त्रिदेवले वध गर्न नसकिने कुरा जनाएपछि पुनः उनीहरूले माता पार्वतीसमक्ष गएर अनुरोध गरे । माता दुर्गा एवं षष्टीदेवी लगायत सबै मात्रिकागण मिलेर शुम्भ निशुम्भ लगायत सबै दानवगणको संहार गरे । अधिकांश युद्धका कठिन परिस्थितिमा माता कुमारीले आफ्नो उपस्थितिले शत्रुको संहार गरेर मानवताको रक्षा गरेकी थिइन् ।

राजा प्रियव्रत र उनकी रानी मालिनीबाट षष्ठीदेवीको पूजा र व्रतको शुरुवात भएको श्रीमद् देवी भागवत महापुराणको नवम स्कन्ध अध्याय ४६ मा उल्लेख गरिएको छ । प्रियव्रत आजीवन ब्रह्मचारी बस्ने निर्णय गरेर तपस्याका लागि वन जान्छन् । वर्षौंको कठोर तपस्या गरेका उनी पिताको आज्ञा अनुसार गृहस्थी र राज्य सञ्चालनका लागि घर फर्किन्छन् र राजकुमारी मालिनीसित प्रणयसूत्रमा बाँधिन्छन् । केही  वर्षपश्चात् उनीहरूलाई पुत्रप्राप्ति हुन्छ । सन्तानप्राप्तिमा राम्ररी खुसी हुन पनि नपाउँदै त्यो बालकको मृत्यु हुन्छ । साह्रै दुःखी भएर राजारानी अन्तिम संस्कार गर्न लैजान्छन् ।

अन्तिम संस्कार गरिरहेका बेला आकाशबाट एउटा विशाल ज्योतिपुञ्ज त्यहाँ आएर बस्छ । त्यो विमानबाट एउटी देदीप्यमान देवी अवतरित हुन्छिन् । ती परम कल्याणकारिणी षष्ठीदेवी थिइन् । राजारानी बालकलाई जीवित बनाइदिनका लागि अनेक बिलौना गर्छन् । देवीले उनीहरूको पीडामा सहानुभूति त दिन्छिन् । तर मृतकलाई पुनर्जीवन प्रकृतिविरुद्ध भएकाले उनीहरूको आग्रह पूरा नहुने बताउँछिन् । बरु आफ्नो व्रत गरेमा सन्तान प्राप्त हुने सल्लाह दिन्छिन् । त्यसपछि राजा प्रियव्रत र रानी मालिनी दरबार फर्किएर उनको व्रत सुरु गर्छन् । त्यो व्रतको प्रभावले उनीहरूलाई सन्तानप्राप्ति भएको हुन्छ । त्यसपछि राजारानीले आफूले जस्तो दुःखकष्ट कसैले भोग्नु नपरोस् भनी यो व्रतबारे सबैलाई जानकारी दिन थालेपछि यो व्रतको सुरुवात भयो भन्ने श्रीमद् देवी भागवत महापुराणमा उल्लेख छ । यस्ती परम कल्याणकारी देवीलाई शतशत नमन ।

भृकुटीनगर, नेपालगन्ज



प्रतिक्रिया दिनुहोस्