काठमाडौं,३ मंसिर । हङकङमा जारी चार देश सम्मिलित महिला अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलामा नेपाल तेस्रो भएको छ । आज भएको तेस्रो स्थानको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपालले तेस्रो स्थान सुरक्षित गरेको हो । नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन जोड्न सक्यो ।
जापानकी ओपनर अकारी निशीमुराले ५१ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाइन् । हिनासी गोटोले ३४ बलमा १ चौकासहित १६ रन बनाइन् ।
नेपालका संगिता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनि पाखृनले समान एक विकेट लिए ।
यसअघि सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन जोडेको थियो ।
नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुबिना क्षेत्रीले २१ र इन्दु बर्माले १२ रन जोडे।
पहिलो खेलमा तान्जिनिया र दोस्रो खेलमा हङकङसँग पराजित भएको नेपालले तेस्रो खेलमा भने जापानलाई ६७ रनले पराजित गरेको थियो ।