Logo

नेपाल हिन्दू राज्य बनोस् भन्ने कामना गर्दै कांग्रेस सांसद भीम पराजुलीले बसे छठको व्रत, गरे सडकमा घस्रेर यात्रा



काठमाडौं,३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर यात्रा गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले सनातन हिन्दू धर्मको माग राख्दै दण्डप्रणाम यात्रा गरेका हुन् । भ्रष्टाचार र बेथिति नियन्त्रणका लागि सनातन हिन्दू धर्मको आवश्यकता रहेकाले त्यसैको कामना गर्दै आफूले दण्डप्रणाम गरेको उनले बताए ।

व्रतका साथ यात्रा गर्न थालेको २९ वर्ष भएको उनले बताए । २०४८ सालदेखि छठी माताको उपासना गरेपनि बुवा र दुई दाजुको निधनका कारण तीन वर्ष रोकिएको उनले बताए ।

विराटनगर महानगरपालिका–३ ठूलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्डप्रणाम गर्दै यात्रा गर्ने गरेको उनले बताए ।

उनले पार्टीभित्र लामो समयदेखि हिन्दू राष्ट्र बनाउनका लागि नेतृत्वका लागि आह्वान गर्दै आएका छन् । कंग्रेसको अर्को महिना बस्ने महासमिति बैठकमा उक्त मुद्दा जोडदार रुपमा उठाउने उनको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्