Logo

दुर्गा प्रसाई र युवा संघको प्रदर्शनबारे सरकार सतर्क, गृह मन्त्रालयमा छलफल



काठमाडौं,३ मंसिर । अभियन्ता तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल र नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मंसिर ७ गते गर्न लागेको वृहत्त आन्दोलनबारे सरकार सतर्क बनेको छ ।

एक-अर्काविरुद्ध आक्रामक रुपमा प्रस्तुत भईरहेको दुबै समूहले एकै समयमा एकै स्थानमा कार्यक्रम आयोजना गरेपछि सरकारले सुरक्षा व्यवस्थाबारे छलफल तीव्र बनाएको छ । आइतबार उपत्यकाका सम्बन्धीत अधिकारीहरुको उपस्थितिमा गृह मन्त्रालयमा सुरक्षा व्यवस्थाबारे छलफल भएको छ ।

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा मन्त्रालयमा भएको छलफलमा काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु क्रमश जितेन्द्र बस्नेत,रोशनीकुमारी श्रेष्ठ र रुद्रप्रसाद पण्डित तीनवटै जिल्लामा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागकाका प्रमुख सहभागी भएका थिए ।

मंसिर ७ मा दुबै पक्षले आन्दोलनको घोषणा गरेका छन् । पछिल्लो समय प्रसाईं नेतृत्वको अभियान र युवा संघ एकअर्का विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् । प्रसाईंले यो व्यवस्थालाईनै परिवर्तन गर्नुपर्ने र राजसंस्था पुनः स्थापना गर्नुपर्ने अभिव्यक्ति दिँदै वर्तमान राजनीतिक दलका शीर्ष नेताविरुद्ध आगो ओकल्दै आएका छन् । भने युवा संघले गणतन्त्रलाई जोगाउने र सरकारको गलत कार्यको भण्डाफोर गर्ने बताउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्