Logo

विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि, दूतावासले भन्यो- पछिल्लो अवस्थाबारे यकिन गर्न सकिएन



काठमाडौं,४ मंसिर । गत अक्टोबर ७ बाट सुरु भएको इजरायल प्यालेस्टाइन द्धन्द्धमा परेर वेपत्ता भएका कञ्चनपुरका विपिन जोशी विद्रोही समूह हमासको नियन्त्रणमा रहको पुष्टि भएको छ ।

इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले हमासले बन्धक बनाई गजातर्फ लगेकाहरूमा नेपालका विपिन जोशी पनि रहेको जानकारी दिएको छ।

इजराइलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा आइडिएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी समेत रहेको दूतावासलाई जानकारी दिएको उल्लेख छ।

‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किब्बुज-अलुमिम मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु भध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

तर जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ। सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए। गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई भने हमासले कब्जामा लिएको थियो।



प्रतिक्रिया दिनुहोस्