काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको सम्पूर्ण पंक्ति एकताको पक्षमा रहेको दाबी गरेका छन् ।
‘नेपाल समाजवादी पार्टीलगायत सबै पक्षसँग वैचारिक र राजनीतिक आधारमा पार्टी एकताको प्रक्रिया अघि बढिरहेको छ । बाबुरामजी के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो । तर उहाँको पार्टी एकताकै पक्षमा छ । गंगानारायण श्रेष्ठ र महिन्द्र राय यादव पार्टी नै एकतामा आउँछ भनिरहनुभएको छ । पार्टी एकता नभए व्यक्तिगत रुपमा को को आउनुहुन्छ, त्यो पछिको कुरा हो । तर हामी बाबुराम भट्टराईसहित पार्टी एकताको पक्षमा छौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
गजुरेलले पार्टी एकताका लागि बाबुराम भट्टराईमा वैचारिक समस्या देखिएको औंल्याए । गजुरेलले थपे, ‘हामीले कम्युनिस्ट आइडियोलोजीमा टेकेर समाजवादका आधार खडा गर्ने भनेका छौं । बाबुरामजी अबको बाटो समाजवाद त हो भन्नुहुन्छ तर उहाँ बुर्जुवा विचारधारामा टेकेर समाजवादतर्फ जान चाहनुहुन्छ । पश्चगामी विचार राखेर कसरी पार्टी एकता हुन्छ त ? पार्टीका लागि पार्टी मात्र भएर मात्र भएन । पार्टीको पार्टीसँग एकता हुन्छ, व्यक्तिसँग हुँदैन ।’
जाजरकोट भूकम्पपीडितको समस्यामा सरकार संवेदनशील रहेको पनि सल्लाहकार गजुरेलले बताए । उनले भने, ‘भूकम्पको पूर्व तयारी नपुगेको यथार्थ हो । जाडोको मौसम भएकाले जनतालाई गाह्रो भएको छ । सरकारले अस्थायी टहरा बनाउन ५० हजार सहयोग दिने घोषणा गरिसकेको छ । हामीले आफ्नो स्थिति अनुसार नै गर्ने हो । राज्यले आफ्नो दायित्व पूरा गर्ने कोसिस गरिरहेको छ । जनताको आवश्यकता अनुसारका काम सरकारले गर्छ ।’
अर्को प्रसंगमा गजुरेलले दुर्गा प्रसाईं परिवर्तन विरोधी शक्तिहरुको गोटी बनेको आरोप पनि लगाए । उनले थपे, ‘परिवर्तनकारी शक्तिहरु सरकारले डेलिभरी दिन सकेन भन्ने जनताको असन्तुष्टिलाई क्यास गरेर संविधान उल्टाउन चाहन्छन् । रिस पोख्ने एउटा कुरा हो । तर पश्चगामी शक्तिको त्यो प्रयत्न सफल हुँदैन । मैले दुर्गा प्रसाईंलाई राम्ररी जानेको छु । उहाँ आफ्नो व्यक्तिगत समस्यामा राजावादीको सहयोग लिएर अगाडि बढ्न खोज्नुभएको छ । परिवर्तनविरोधीले दुर्गा प्रसाईंलाई प्रयोग गर्न खोजिरहेका छन् । उहाँ परिवर्तन विरोधीको गोटी बन्नुभएको छ ।’
परिवर्तन पक्षधर शक्तिले विगतका कमजोरी सुधारेर आत्मसमीक्षा गर्नुपर्ने पनि गजुरेलले औंल्याए । उनले भने, ‘परिवर्तनविरोधीहरुको वैचारिक र राजनीतिक प्रतिवाद आवश्यक छ । विगतमा हामी कहाँकहाँ चुकेका छौं, त्यसको पनि आत्मसमीक्षा गर्नुपर्छ । अब हामी अधिकतम डेलिभरी दिने प्रयत्न गर्नेछौं भनेर जनतालाई आश्वस्त पार्न सक्नुपर्छ ।’